गुलरियामा चितुवाको बिगबिगी,स्थानीय त्रसित
शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित

बर्दिया,असोज ३(फरकसमाचार)/ गुलरिया नगरपालिकामा चितुवाको आतंक बढ्दो छ । चितुवा गाउँमा पसेर निरन्तर आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । सम्साँझै चितुवा गाउँ पस्न थालेपछि स्थानीय रातभरि जाग्रराम बस्न बाध्य छन् । कति बेला चितुवाले आक्रमण गर्ने त्रासले स्थानीय घर बाहिर निस्कन समेत डराईरहेका छन् । एक महिनाको अन्तरालमा चितुवाले गुलरिया नगरपालिका–१२ का दुई महिलाको ज्यान लिईसकेको छ । यस्तै चितुवा गाउँमा पसेर निरन्तर पशुचौपायालाई आक्रमण गर्न थालेपछि स्थानीय राभरि मज्जाले निदाउँन सकेका छैनन् ।

बुधबार राति ९ बजे गुलरिया नगरपालिका–७ गुलरिया गाउँका मालती यादवको आँगनमा बाँधेको बाछो चितुवाले खाएको छ । आँगनमा बाँधेको बाछोलाई चितुवाले झम्टेर मकैबारीमा दौडेपछि स्थानीयले हो–हल्ला गर्दा छोडेर भागेको थियो । गाउँ बस्तीमा पल्केको चितुवालाई सम्बन्धित निकायले तत्काल सामात्नुपर्ने गुलरिया नगरपालिका–७ का लिल्ली धोबीले माग गरे । ‘आज पशुचौपायालाई शिकार बनाएको चितुवाले भोली बालबालिका माथि आक्रमण गर्न सक्छ,’उनले भने,‘बस्तीमा पल्केको चितुवालाई सम्बन्धित निकायले तत्काल नियन्त्रण लिनुपर्छ ।’

तीन दिन अघि राती ९ बजे चितुवा गुलरिया नगरपालिका–७ चौगुर्जीमा पसेको थियो । आँगनमा आएको चितुवालाई हल्ला गरेर भगाएको स्थानीय मनोज यादवले बताए । यस्तै अघिल्लो साता गुलरिया नगरपालिका–८ आशापुर गाउँमा चितुवा पसेको थियो । गुलरिया नगरपालिका–८ सर्जुनदी टपरा वरिपरि सम्साँझै चितुवा निस्कने गरेको स्थानीयले बताउँछन् ।

गत भदौ २९ गते गुलरिया नगरपालिका–१२ टडुवाकी २७ वर्षीय कबिता रानाको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । गुलरिया नगरपालिका–१२ स्थित नेपाल केदुवाई सामुदायिक वनमा घाँस काट्न गएको बेला बिहान १० बजे चितुवाले आक्रमण गरि रानाको ज्यान लिएको थियो । यस्तै गत साउन ३० गते गुलरिया नगरपालिका –१२ भैंसाहीकी ४२ वर्षीया जगतरानी थारुको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । खेतमा धान गोडिरहेको बेला थारुलाई चितुवाले आक्रमण गरि एक सय मिटर उखुबारीमा लगेर खाएको थियो ।

चितुवा सामात्न सम्भावित ठाउँमा केज राखेर नियन्त्रण लिने प्रयास गरे पनि नियन्त्रणमा नआएको डिभिजन वन कार्यालयका सुचना अधिकारी रामकुमार चौधरीले बताए । डिभिजन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा चितुवाको आक्रमणबाट चार जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए । जसमा गुलरियाकै दुई बालिकाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर