जेनजी आन्दोलनः मेयरको कुर्सीमा बस्ने पक्राउ
शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित

बर्दिया, असोज ३ / सार्वजनिक सम्पति तोडफोड गरी कार्यालय भित्र पसेर मेयरको कुर्सीमा बसेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जेनजीले भदौ २४ गतेको आन्दोलनमा सहभागी यूवाले सांसद संजय गौतमको निजी घर, कांग्रेस, नेकपा (एमाले)को पार्टी कार्यालय र नगरपालिकामा आगजनी तोडफोड गर्दा आंशिक क्षति भएको छ । गुलरिया नगरपालिका–६ का २६ वर्षीय इरफान मनिहारले आगजनी, तोडफोड र लुटपाट भइरहेको समयमा नगरपालिकाभित्र प्रवेश गरी मेयरको कुर्सीमा बसेर ‘म अबदेखि नगरप्रमुख हुँ’ भन्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका थिए ।

नियन्त्रणमा लिएका यूवाविरुद्ध अपराधिक प्रवेश तथा अपराधिक उपद्रव सम्बन्धी कसुरमा कारबाही सुरु गरिएको हो । ‘केही अभियुक्त फरार भएकाले तिनीहरूको व्यापक खोजी भइरहेको छ’ एसपी सरोज पौडेलले बताए । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–८ का ३५ वर्षीय सजन बेहना, गुलरिया नगरपालिका–१२ का ४२ वर्षीय सलिम गद्दी, गुलरिया नगरपालिका–७ को २० वर्षीय अमन राईन र ४१ वर्षीय रोनक पोरवाल र २६ वर्षीय ईरफान मनिहार रहेका छन् । सामाजिक सञ्जालमा लुटपाट र आगजनीका तस्बिर तथा भिडियो हेरेर प्रहरीले नियन्त्रणमा लिएको हो । केही अभयुक्त फरार भएकाले प्रहरीले आत्मसमर्पण गर्न आह्वान गरेको छ । आगजानी, लुटपाट र तोडफोडमा संलग्न भएपनि आत्मसमर्पण नगरे फरार सूचीमा राखेर खोजी गर्ने र कानुन अनुसार कारबाही गर्ने चेतावनी प्रहरीको छ । नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय