अभिनव कुमार पाठक
बर्दिया, असोज १३/ बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । गुलरिया नगरपालिकाको आयोजनामा सोमबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम गरी हर्ष र उल्लासका साथ चाडपर्व मनाउन गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए । ‘चाडपर्वको बेला कुनै किसिमको उच्छिङ्खल गतिविधि गर्नु हुदैन,’नगर प्रमुख यादवले भने,‘चाडपर्वको बेला हुन सक्ने सम्भावित घटना हुन नदिन सुरक्षा निकायलाई सहयोग गर्नुपर्छ ।’
गुलरिया नगरपालिका अन्तर्गत ९३ वटा स्थानमा दुर्गाको मूर्ति रातिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘त्यसैले हामीले आफ्नो पर्व हर्ष उल्लासका साथ मनाउँ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने,‘पर्व मनाउँदा डिजे एकदम सानो आवाजमा बजाउँ किनभने डिजेले गर्दा ठूलो समस्या भइरहेको छ ।’
शुभकामना आदान प्रदान कार्यक्रममा नगर प्रमुख मुक्तिनाथ यादव, उप–प्रमुख सावित्रा गौतम, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरीक्षक सरोज पौडेल, सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाही, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

