बर्दिया, असोज २२/ हत्यापछि खोला किनारमा गाडेको अवस्थामा फेला परेकी एन्जल भनिने भारती देउवा बुटवलबाट दसैं मान्न केही दिन पहिले मात्रै घर आएको खुलेको छ । सानीआमा पवित्रा पौडेलसँगै बसेर एन्जल बुटवलको प्रभात इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत थिइन् ।
नजिकका छिमेकी तथा शिक्षक जीवराज आचार्यका अनुसार एन्जलका बुवा प्रकाश देउवा र आमा देउमा चलाउने दसैं मान्न भनेर भारतबाट एक महिना पहिले मात्रै घर फर्किएका थिए । उनीहरूले ६ वर्षीय छोरा डेबिट देउवालाई पनि आफूसँगै भारतको गुजरातमा लिएर गएका थिए । उनीहरू त्यहाँ काम गर्थे ।
देउवा परिवारले छोरीलाई पढाउन सानी आमासँगै बुटवल पठाएको थियो । एन्जल दसैं मनाउन भनेर आन्टीसँगै बुटवलबाट केही दिन पहिले मात्रै बर्दियाको गेरूवा गाउँपालिका – ५ झबहीस्थित घर आएकी थिइन् । बुवा प्रकाशका अनुसार दसैंका दिन असोज १६ गते उनकी श्रीमती, छोरा र छोरी सँगै कैलालीस्थित पुख्र्यौली घर गएका थिए । प्रकाशको पुख्र्यौली घर लम्कीचुहा नगरपालिका–६ सगुनियाँमा पर्छ ।
टीका थापेर देउमा छोरासहित सोही दिन बर्दिया फर्किएकी थिइन् । एन्जल भने त्यो दिन हजुरबुवाको घरमै बसिन् । एन्जल असोज १७ गते १२ बजेतिर बर्दिया आइपुगिन् । बर्दिया फर्किएकी एन्जलले आमालाई देखिनन् । आमा देउमा बिहे घरमा गएको हुनुपर्ने ठानेर उनी साइकल चढेर बिहे घर पुगिन् ।
गेरूवा–३ गणेशपुरस्थित ठूली आमाको छोरा काका नाता पर्ने बलबहादुर रोकायाको बिहे तयारी भइरहेको थियो । असोज १८ गते रोकायाको परिवार बेहुली लिन जन्ती गएको थियो । बिहेको घरबाट एन्जलले आफन्तको मोबाइल मागेर आमा देउमासँग कुरा गरेकी थिइन् । बिहेमा लगाउने आफ्नो कपडा ल्याइदिन फोनमा भनेकी थिइन् । एन्जलले आफू त्यो दिन मामाघर नआउने पनि आमालाई बताएकी थिइन् । तर, देउमाले व्यस्तताका कारण आफू कपडा लिएर आउन नपाउने छोरी एन्जललाई भनेकी थिइन् । प्रकाशका अनुसार त्यो दिन श्राद्धको काम भइरहेको हुँदा देउमा व्यस्त थिइन् ।
त्यसपछि एन्जल साइकल चढेर मामाघरतर्फ कपडा लगाउन भनेर जाँदै गर्दा बाटोमा कसैले उनको हत्या गरेको खुलेको छ । बुवा प्रकाशले छोरी घर नआएपछि असोज १७ गते राति सवा ९ बजेतिर प्रहरीलाई फोन गरी छोरी घर नफर्किएको हुँदा खोजीका लागि आग्रह गरेका थिए ।
असोज १८ गते दिउँसो गेरुवा गाउँपालिका –५ मूलपानी गुडिखोला क्षेत्रमा एन्जलले प्रयोग गरेको साइकल पानी सुकाएपछि फेला परेको थियो । एन्जलले लगाउने चप्पल झाडी सफा गरेपछि फेला परेको थियो । एन्जलको शव खोला किनारमा गाडेको अवस्थामा सोमबार दिउँसो फेला परेको परेको इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए । एन्जलको हत्यापछि गाडेको अवस्थामा शव फेला परेपछि बुवा र आमा मंगलबार इलाका प्रहरी कार्यालय शान्ति बजार पुगेर जाहेरी दिएका छन् ।
इप्रका शान्ति बजारका प्रमुख प्रहरी निरीक्षक मदन गुरूङले जाहेरीको बेहोरो लेखेर अभिभावकले तयारी गरिरहेको र कतव्र्य ज्यान सम्बन्धी मुद्दा दर्ताको तयारी भइरहेको बताए । मुद्दा दर्ता भएपछि मात्रै एन्जलको शवको पोष्टमर्टम प्रक्रिया सुरू गर्ने तयारीमा प्रहरी छ ।
‘अहिलेसम्म बालिकाको शव जिल्ला अस्पताल बर्दियामै छ,’ प्रहरी निरीक्षक गुरूङले भने, ‘मुद्दा दर्तापछि बाँकेको नेपालगञ्जमा पोष्टमर्टमका लागि शव पठाउने तयारी गरिएको छ ।’ प्रहरी निरीक्षक गुरूङका अनुसार हालसम्म चार जनामाथि सोधपुछ भइरहेको छ । एन्जल हत्या प्रकरणका बारेमा प्रारम्भिक चरणको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी देवेन्द्रकुमार मल्लले बताए । स्रोत सेतोपाटी

