‘आमाको उपचारका लागि लिएको ऋण तिर्न अटो बेचेँ’
बुधबार, असोज २२, २०८२ मा प्रकाशित

ऋषि बनियाँ

बर्दिया,असोज २२ / हामीजस्ता भुइँमान्छेलाई सम्पन्न मान्छेको जस्तो चाडपर्व नआउँदो रहेछ । यतिबेला जताततै चाडपर्वको रौनक देख्छु । बजारमा नयाँ कपडालगायत चाडपर्वका लागि आवश्यक पर्ने सामान किन्न मान्छेहरूले तँछाड–मछाड गरिरहेका छन् । तर, जति ठूलो चाडपर्व आए पनि हामीजस्ता विपन्न परिवारलाई कुनै उल्लास महसुस हुँदैन ।

हामीलाई केवल आफ्नो व्यापार कसरी गर्ने, गाउँ–गाउँ ठेला डुलाएर घरखर्च कसरी जोहो गर्ने मात्र चिन्ता हुन्छ । त्यही चिन्ताले बिहान उठेदेखि साँझसम्म आफ्नो कर्ममा व्यस्त हुन्छु । मलाई आफ्नो कामबाहेक दुनियाँसँग मतलब राख्ने फुर्सद नै हुँदैन ।

गुलरिया नगरपालिका–६ शिवमन्दिर टोलमा घर छ । उमेरले अहिले २४ वर्ष पुगेँ । परिवारको आर्थिक स्थितिले लेखपढ गरेर राम्रो जागिर खान सकिएन । गरिबी हालतले कक्षा ३ सम्म पढ्न पाएँ । घरबासबाहेक जग्गा जमिन केही छैन । अहिले पनि साँझ–बिहान हातमुख जोर्न आफूले जानेको काम गरिरहेको छु । आफ्नै ठाउँमा पसिना बगाउनुपर्छ भन्ने विश्वास राख्ने मान्छे हुँ । गुलरिया बजारमा ठेलामा सिजनल व्यापार गर्न थालेको पनि आठ–नौ वर्ष भयो ।

विगत एक सातादेखि आइसक्रिम व्यवसाय सुरु गरेको छु । यस व्यवसायका लागि दुई लाख रुपैयाँ लगानी गरेर व्यापार सुरु गरेको हुँ । गुलरियादेखि ३५ किलोमिटरपूर्व रहेको नेपालगन्जबाट आइसक्रिमका लागि आवश्यक सामान किनेर ल्याउँछु । बिहान सबेरै उठेर सामान तयार गर्छु ।

बिहानदेखि एक्लै आइसक्रिमको सामान तयार गर्दा गर्दै दिउँसोको करिब १/२ बजिहाल्छ । तयारी आइसक्रिम ठेलामा राखेर साँझसम्मै गाउँगाउँ डुल्छु । साताको शनिबार र मंगलबार गुलरिया नगरपालिका–७ स्थित लाग्ने तरकारी हाट बजारअगाडि ठेला राखेर आइसक्रिम र बदाम सेक दुई आइटम बेच्छु । यस्तै अन्य दिन गाउँ–गाउँ ठेला डुलाएर बेच्छु । कुनै दिन जिल्ला प्रहरी कार्यालय नजिकको चोकमा ठेला लगाएर पनि आइसक्रिम बेच्छु ।

यसअघि ठेलामा बरफ गोला, पानीपुरी र चटपटे बेच्थेँ । दैनिक जुगारा चलाउन खाली बसेर पुग्दैन । सिजन अनुसारको ठेला व्यापार गर्छु ।

आमा बितेको करिब डेढ वर्ष भयो । आमा मुटुको रोगी हुनुहुन्थ्यो । उहाँको उपचारका लागि धेरै खर्च लाग्यो । उपचारका लागि नेपालगन्ज र भारतका विभिन्न ठाउँमा पुग्दासमेत आमालाई बचाउन नसक्दा साह्रै दुःखी भएका थियौं । पहिला मेरो आफ्नै अटो थियो र आफैंले चलाउँथेँ । आमाको उपचारका लागि लिएको ऋण तिर्न नसकेर अटो बेचेँ । उपचारका लागि आफन्तबाट लिएको ऋण अझै २ लाख ५० हजार रुपैयाँ तिर्न बाँकी छ । अहिले ठेला व्यापार गर्दै बिस्तारै ऋण तिरिरहेको छु ।

हाम्रो चार जनाको परिवार छ । बुवा, दाइ, भाउजू र म । मेरो अझै विवाह भएको छैन । अहिले बुवाले घरअगाडि चाटको ठेला लगाउनुहुन्छ । यस्तै रोजगारीका क्रममा दाइ भारततिर छ । आमा बितेपछि बुवासँग मेरो कुरा मिलेन । म अहिले भाडामा एक्लै बस्छु । गुलरिया नगरपालिका–६ स्थित एक कोठा भाडामा लिएर बसिरहेको छु ।

दिनभरि ठेला गुडाएर दैनिक ५/६ सय कमाइ गर्छु । यही कमाइबाट ऋण तिर्दै आफ्नो गुजारा चलाइरहेको छु । कसैसामु हात थाप्नुपरेको छैन । कोठा भाडा मासिक २ हजार ५ सय तिर्नुपर्छ । विद्युत्को बिल मासिक २ हजारभन्दा कम आउँदैन । यस्तै चामल, दाल, नुन, तेल, तरकारी, मसला, कपडालत्ता, सरफ–साबुनमा मासिक ८ हजार जति खर्च भइहाल्छ । जीवन संघर्षको यात्रा जस्तै लाग्छ । संघर्षले नै आज स्वावलम्बी बनाएको महसुस भइरहेको छ । प्रस्तुति : रामप्रसाद चौहान,ईकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय