बर्दिया निकुञ्जमा पर्यटक डुलाउँदै तीन दिदी–बहिनी
बुधबार, कार्तिक २०, २०८२ मा प्रकाशित

बर्दिया,कार्तिक १९ / बर्दियाको ठाकुरबाबा नगरपालिका–९, हात्तीसारकी ३३ वर्षीया सुशीला महतारा एक दिन बेलायतबाट घुम्न आएका दुई पर्यटक र एक जना सहयोगी लिएर जंगल वाकमा गएकी थिइन् । यसरी पाहुना लिएर जंगल डुल्न जाँदा पहिलो प्राथमिकता पाटेबाघ देखाउने हुन्छ ।

‘हिँड्दा हिँड्दै निकुञ्जको मध्यक्षेत्र कालावन फाँटमा पुगेपछि गैंडासँग जम्काभेट भयो,’ उनले भनिन्, ‘तत्काल चढ्नलाई रुख थिएन । भाग्नलाई खुला ठाउँ भएन । झाडी र साँघुरो ठाउँ मात्र थियो ।’ गैंडाले आक्रमण गर्न खोजेपछि पाहुना आत्तिए । त्यस्तो आपतका बेला सुशीलाको दिमागमा पाहुनालाई कसरी जोगाउन सकिन्छ भन्ने उपाय फुर्‍यो । हातमा बोकेको लठ्ठी नचाउँदै हो–हल्ला गरेर गैंडालाई भगाउन सफल भइन् र पाहुनाको ज्यान बचाइन् ।

यसरी पर्यटक डुलाउने घरकी उनी एक्ली होइनन् । उनका तीन दिदीबहिनी बर्दिया निकुञ्ज घुम्न आउने पर्यटक डुलाउन अहिले व्यस्त छन् । बर्दियाको पर्यटकीय केन्द्र ठाकुरद्वारामा उनीहरू कहलिएका प्रकृति पथ प्रदर्शक हुन् । सुशीलासँगै २९ वर्षीया मन्जु र २४ वर्षीया रन्जु पनि ‘टुरिस्ट गाइड’ हुन् । जोखिम मोलेरै भए पनि उनीहरू पाहुनालाई सुरक्षित वन्यजन्तु सफारीको अनुभव प्रदान गरिरहेका छन् । उनीहरूको दृढ इच्छाशक्तिले गाउँका अन्य किशोरीलाई प्रकृति पद प्रदर्शक पेसातर्फ आकर्षित गरिरहेको छ । उनीहरू जंगल निस्किँदा हातमा लौरो र क्यामरा लगायत आवश्यक सामग्री बोक्छन् । एकातिर पर्यटकलाई निकुञ्जका विशेषता बुझाउँछन् । अर्कोतर्फ सफारी जाँदा देखिने वन्यजन्तु र प्राकृतिक मनोरम दृश्य क्यामरामा कैद गरेर सामाजिक सञ्जालमा पोस्ट गर्छन् । जसबाट स्वदेशी र विदेशी पर्यटकलाई आकर्षिक समेत गर्छन् ।

दैनिक खिचेका निकुञ्जमा पाइने विभिन्न प्रजातिका वन्यजन्तुका तस्बिर सामाजिक सञ्जालमा पोस्ट्याएर उनीहरूले व्यक्तिगत रूपमा ‘वाइडलाइफ फोटोग्राफर’को पनि पहिचान बनाएका छन् । सुशीला र मन्जुले तस्बिर पोस्ट गर्दा जंगल सफारी कहिल्यै नगएका पर्यटक पनि एकपटक सफारी गर्न बर्दिया पुग्न थालेका छन् । यसरी पर्यटक क्षेत्रमा क्रियाशील बनेको १३ वर्ष पुगेको सुशीलाले बताइन् ।

‘कक्षा १२ पास गरेर ३ वर्ष होटलमा काम गरेँ,’ उनले भनिन्, ‘नेचर गाइडको तालिम लिएँ, महिला नेचर गाइड भएकाले सुरुमा गेस्ट पाउन गाह्रो, पाएको गेस्टलाई जंगलमा लिएर जाँदा पनि गाह्रो हुन्थ्यो र बिस्तारै काम गर्दै जाँदा सबै सजिलो हुँदै गयो ।’ तर, अहिले पनि भर्खरैं यो पेसामा आबद्ध भएजस्तो लाग्ने उनले बताइन् । उनका बुवा निकुञ्जको हात्तीसारमा काम गर्थे । त्यही बेलादेखि वन्यजन्तुप्रति आफ्नो लगाव बढेको उनले बताइन् । वन्यजन्तु र जंगलप्रतिको त्यही मोहले आफूलाई प्रकृति पथ प्रदर्शक बनाएको उनले बताइन् ।

उनका बुवाले माउते पदमा २५ वर्ष बिताएर तीन वर्षअघि अवकाश प्राप्त गरे । अहिले सुशीलाका तीन दिदीबहिनी नै पथ प्रदर्शनसँगै वन्यजन्तु संरक्षणमा होमिएका छन् । होटल म्यानेजमेन्ट अध्ययन गरेपछि दिदीले थालेको कर्ममा विश्वास गरी आफू पनि नेचर गाइड तालिम लिएर पर्यटन क्षेत्रमा होमिएको मन्जुले बताइन् । ‘प्रकृति पद प्रदर्शन पेसाबाट सन्तुष्ट छु,’ उनले भनिन्, ‘साथै फोटो खिच्ने रुचिले अर्को पहिचान बनेको छ । सामाजिक सञ्जालबाट चर्चा पाइरहेकी छु ।’ दुवै दिदीको सिको गर्दै दुई वर्षअघिबाट नेचर गाइड सुरु गरेको रन्जुले बताइन् । ‘बेरोजगारीका बेला जागिर खोज्न गाह्रो भयो,’ उनले भनिन्, ‘बाहिर गएर पसिना बगाउनुभन्दा आफ्नै गाउँठाउँमा स्वदेशी तथा विदेशी पर्यटक डुलाउँदा सन्तुष्ट छु ।’

पहिले परिवारको आर्थिक अवस्था कमजोर रहेको उनीहरूले सुनाए । तीनै दिदीबहिनी कमाउने भएपछि अहिले आर्थिक अवस्था सुध्रिएको उनीहरूले बताए । सात दिदीबहिनीमा अहिले तीन जना पर्यटन क्षेत्रमा क्रियाशील रहेको रन्जुले बताइन् । उनीहरूका दुई काठमाडौं, एक बहिनी पोखरामा अध्ययनरत छन् । एक जना वैदेशिक रोजगारीका लागि विदेश पुगेकी छन् । वन्यजन्तु संरक्षणले गाउँठाउँमा रोजगारी दिएको उनीहरूको भनाइ छ ।

मन्जुका अनुसार वर्षमा ९ महिना पर्यटक डुलाउन व्यस्त रहने गरेका छन् । उनीहरूलाई नेचर गाइड अफिस, स्थानीय होटल, ट्राभल एजेन्सी र व्यक्तिगत इमेलबाट पर्यटक डुलाउने अफर आउने गरेको छ । अहिले उनीहरू क्यापिङ, जंगल वाक, जंगल सफारी, रिभर र्‍याफ्टिङ, फिसिङ, कल्चर टुर, रिसर्च गर्न आएका पर्यटकको चाहना अनुसार सेवा प्रदान गरिरहेका छन् ।

जिल्लामा क्रियाशील १ सय २० मध्ये डेढ दर्जन महिला गाइड रहेको प्रकृति पद प्रदर्शक संघ जिल्ला अध्यक्ष कृष्णबहादुर शाहले बताए । ‘अन्य पुरुष गाइडले जस्तै यी तीन दिदीबहिनीले आफ्नो जिम्मेवारी बखुबी पूरा गरिरहेका छन्,’ उनले भने । स्रोत ईकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर