अध्यक्ष यादवको पहलमा विद्यालयलाई नयाँ बस
शुक्रबार, कार्तिक २२, २०८२ मा प्रकाशित

बर्दिया,कार्तिक २१/ गुलरिया नगरपालिका–७ स्थित रहेको श्री हिमाली आधारभूत विद्यालय चौगुर्जीलाई नयाँ बस हस्तान्तरण गरिएको छ । भारत सरकारले सहयोग गरेको बस बिहीबार विद्यालयलाई हस्तान्तरण गरिएको हो । उक्त विद्यालयमा गुलरिया गाउँ,चौगुर्जी र बदलुपुरलगायत गाउँका बालबालिका अध्ययनरत छन् । विद्यालयमा नयाँ बस आएपछि विद्यार्थीहरु उत्साहित र खुसी देखिएका छन् ।

मित्र राष्ट्र भारतको सहयोगमा प्राप्त बस विद्यालयलाई हस्तान्तरण गरिएको गुलरिया नगरपालिका नगर प्रमुख मुक्तिनाथ यादवले बताए । ‘प्राप्त बसले विद्यार्थीलाई विद्यालय ल्याउन र घर छोड्ने काममा प्रयोग हुन्छ,’नगर प्रमुख मुक्तिनाथ यादवले भने,‘बस ल्याउन पहल गरेकोमा ७ नंम्बरका वडा अध्यक्ष ज्यूलाई विशेष धन्यवाद छ ।’ आगामी दिनमा नगरका अन्य विद्यालयको लागि सवारी साधन उपलब्ध गराउन विषेश पहल गर्ने नगर प्रमुख यादवले धारणा राखे ।

यस विद्यालयमा बस ल्याउन तीन वर्ष पहिला प्रपोजल हालेको गुलरिया नगरपालिका–७ का वडा अध्यक्ष एवंम् नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य मनोज कुमार यादवले बताए । ‘भारतीय राजदूतावाससंग निरन्तर गरेको प्रयासले बस ल्याउन सफल भए,’अध्यक्ष यादवले भने,‘यस कार्यमा सघाँउने नेपाल भारत मैत्री संघका अध्यक्षलगायत पदाधिकारी र भारत सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु ।’
‘धनीका बच्चाहरु बस चढेर बोडिङ्ग स्कूलमा पढ्न जान्छन्,तर यहाँ गरिबका बच्चाहरु पढ्छन्,’वडा अध्यक्ष यादवले भने,‘अब गरिबका बच्चाहरु पनि बस चढेर पढ्न जान्छन् ।’

प्राप्त भएको बस अब केही दिनमा विद्यार्थी ल्याउन लैजान संचालन गर्ने तयारी रहेको श्री हिमाली आधारभूत विद्यालयका प्रधानाध्यापक ललित चन्द थारुले बताए । प्रधानाध्यापक थारुका अनुसार उक्त विद्यालयमा ४ सय ८९ विद्यार्थी अध्ययनरत छन् ।

भारत सरकारको सहयोगमा प्राप्त बसको गुलरिया नगरपालिका नगर प्रमुख यादवले पूजापाठ गरि र रिबन काटेका थिए । बस हस्तान्तर कार्यक्रममा नगर प्रमुख मुक्तिनाथ यादव, वडा नंम्बर ७ का वडा अध्यक्ष मनोज कुमार यादव, वडा नंम्बर ११ का वडा अध्यक्ष विष्णु यादव, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहलगायत विद्यार्थी, शिक्षक र अभिभावकहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय