बर्दिया,कार्तिक २५ / गोली लागेर एक जना गम्भीर घाइते भएका छन्। ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँका ३८ वर्षीय रमेश तिमिल्सिना सोमबार राति गोली लागेर गम्भीर घाइते भएका हुन्।
ठाकुरबाबा नगरपालिका–३ मृचैया स्थित भीम साउदको घरमा आइतबार एक जनाको मृत्यु भएको थियो। मृत्यु भएको घरमा कुरुवा बस्न गएका तिमिल्सिनालाई राति साढे १२ बजे ठाकुरबाबा नगरपालिका–३ गिदरपुरका २५ वर्षीय तर्क भण्डारीलगायत १०/१५ जनाको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ। के विषयमा विवाद भएको हो भन्ने अझै खुलेको छैन।
विवाद हुने क्रममा चार राउन्ड गोली चलेको आवाज आएको एक स्थानीयले बताएका छन्। तिमिल्सिनाको दायाँ हातको पञ्जामा गोली लागेको घाउ छ। यस्तै, कुटपिटबाट उनको घुँडा र टाउकोमा पनि चोट लागेको छ।
नगर अस्पताल भुरिगाउँमा प्रारम्भिक उपचारपछि तिमिल्सिनालाई थप उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेजमा रिफर गरिएको थियो। प्रहरीका अनुसार तिमिल्सिना आइसीयुमा राखी उपचार भइरहेको छ।
‘गोली लागेको पुष्टि भइसकेको छैन,’ प्रहरी नायब उपरीक्षक देवेन्द्र कुमार मल्लले भने, ‘घाउ सानो छ, गोली लागेको पनि हुन सक्छ, अनुसन्धान भइरहेको छ।’ मल्लका अनुसार घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ भने घटनाका मुख्य व्यक्ति भण्डारीको खोजी भइरहेको छ।
