बर्दिया,कार्तिक २५(फरकसमाचार) /लागु औषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गुलरिया र बढैयाताल स्थितबाट आइतबार प्रहरीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको हो ।
बढैयाताल गाउँपालिका–७ कर्णालीपुर स्थित बलई गाउँबाट नेपालतर्फ साइकलमा शंकास्पद रुपमा आईरहेका बाँके बैजनाथ गाउँपालिका–३ उत्तरलधौराका २६ वर्षीय सुरेन्द्र थारु र २५ वर्षीय रमेश थारुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु औषध फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट २ ग्राम ४ सय ८० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला परेको जनाईएको छ ।
यस्तै गुलरिया नगरपालिका–११ गणेशपुर स्थितबाट ठाकुरबाबा नगरपालिका–६ का १८ वर्षीय जिवन थापालाई १ ग्राम २ सय २० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको पदार्थसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको डीएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिए ।

