बर्दिया,कार्तिक २५(फरकसमाचार) / गुलरिया नगरपालिका अन्तर्गतका तीन वटा एग्रोभेटमा सरकारद्वारा अनुदानीत मल भेटिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा बजार निरीक्षण अधिकृत विमल गुरुङको नेतृत्वमा सोमबार भएको एग्रोभेट अनुगमनका क्रममा सरकारद्वारा अनुदानीत मल भेटाएको हो ।
सरकारद्वारा अनुदानीत मल एग्रोभेटमा बेच्न पाइदैन । सरकारद्वारा अनुदानमा कृषि सामाग्री कम्पनी लिमिटेड र साल्टटे«डिङमा आएको मल स्थानीय पालिकाको सिफारिसमा सहकारीमार्फत किसानलाई दिनुपर्ने हो । तर,एग्रोभेटमा बिक्रीको लागि कसरी गयो खुलेको छैन ।
‘गुलरिया अन्तर्गतका तीन वटा एग्रोभेटबाट ६४ किलोग्राम बेच्न नपाउने अनुदानीत मल पोटास भेटिएको छ,’प्रशासकीय अधिकृत गुरुङले भने,‘बेच्न नमिल्ने मल कसरी एग्रोभेटमा बिक्रीको लागि गयो, सहकारीमाथि छानबिन गर्ने तयारी भईरहेको छ ।’
यस्तै अन्य एग्रोभेटहरुबाट म्याद गुज्रिएका बिउबिजन र किटनासक औषधी जम्मा मुल्य रु २५ हजार १ सय ३५ बराबरको जफत गरि नष्ट गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा बजार निरिक्षण अधिकृत विमल गुरुङको नेतृत्वमा भएको एग्रोभेट अनुगमनमा घरेलु तथा साना उधोग, स्थानीय गुलरिया नगरपालिका, नेपाल प्रहरी, उधोग बाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च, कृषि ज्ञान केन्द्र, साल्टट्रेडिङका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

