गुरुसत्ता कमजोर हुनुनै बर्तमान अस्थिरताको प्रमुख कारण हो !
बुधबार, मङि्सर ०४, २०८२ मा प्रकाशित

देश कमजोर हुनु र बेथिति बढ्नु पछाडिका कारण धेरै हुन सक्छन । कारणहरु धेरै भएपनि यसको आधारभूत कारण भनेको गुरुसत्ता अर्थात् समाजको नैतिक, बौद्धिक र सांस्कृतिक आधारको क्षय हो। जब राष्ट्रसँग मूल्य–मान्यता, नैतिक नेतृत्व र अनुशासनात्मक चेतना बलियो हुँदैन, त्यस्तो राज्य सधैं अस्थिर, कमजोर र अविकसित दिशातर्फ धकेलिन बाध्य हुन्छ।
गुरुसत्ता भन्नाले कुनै समाजमा गुरु, आध्यात्मिक अगुवा, बुद्धिजीवी, शिक्षक, वा ज्ञान–मार्गदर्शक व्यक्तिले राख्ने प्रभाव, अधिकार र नैतिक नेतृत्वलाई जनाउँछ। यसलाई सरल भाषामा ज्ञान र नैतिकतामा आधारित नेतृत्वको शक्ति” भनेर बुझिन्छ । जहाँ गुरु वा बुद्धिजीवी वर्ग बलियो हुन्छ, त्यस्तो समाजले दिशा, मूल्य, अनुशासन र लक्ष्य स्पष्ट रूपमा निर्धारण गर्न सक्छ। जहाँ यो कमजोर हुन्छ समाज मूल्यहीनता, अव्यवस्था र दिग्भ्रममा फस्ने सम्भावना बढ्छ। पूर्वीय दर्शनमा गुरुसत्ता भन्नाले गुरु लाई ज्ञान, सत्य, नैतिकता, अनुशासन र जीवन-मार्गदर्शनको सर्वोच्च स्रोतका रूपमा स्वीकारिएको शक्ति, प्रतिष्ठा र अधिकार हो। पूर्वीय विचार परम्परामा ज्ञानको अन्तिम अधिष्ठान गुरु नै हुन सक्छ भन्ने मान्यता बलियो छ। यसको मूल आधार “गुरु बिना ज्ञान हुँदैन” भन्ने धारणा हो। गुरु सत्ता भनेको ज्ञान र सत्यको संरक्षक ,अनुशासन/ मर्यादा र नैतिक मूल्यको स्रोत,शिष्यको चेतना रूपान्तरण गर्ने शक्ति,आध्यात्मिक–बौद्धिक यात्राका मार्गदर्शक,समाजमा विद्या, संस्कार र चरित्र निर्माणको आधार हो । पूर्वीय दर्शनमा गुरुसत्ता भनेको गुरुमा निहित ज्ञान/शक्ति, नैतिक अधिकार र शिष्य तथा समाजलाई रूपान्तरण गर्ने क्षमता हो जब यी सबै आधारहरू कमजोर हुँदै र भत्किदै जान्छन समाज कमजोर हुन्छ , देश अस्थिर र अबिकसित अबस्था तर्फ धकेलिदै जान्छ ।
हाम्रो देशको अबस्था अस्थिर हुँदै जानु पछाडिको प्रमुख कारण हामीले राजनितिक मानेता पनि यसको प्रमुख कारण गुरुसत्ता कमजोर हुँदै जानु हो । गुरुसत्ता जमजोर हुँदै जानुमा धेरै कारणहरु हुन्छन । गुरुसत्ता कमजोर गराउने पहिलो कारण हो “नैतिक शिक्षाको अभाव” । जब परिवार, विद्यालय, समाज र राज्यमा मूल्य, अनुशासन, कर्तव्य, श्रम, सत्य, धैर्यजस्ता गुणहरू शिक्षाभन्दा बाहिर धकेलिन्छन्, यसले गुरु सत्ता कमजोर गर्दछ । राजनीतिक क्षेत्रमा गुरु सत्ता कमजोर हुँदा विचारधारा, दीर्घकालीन दृष्टि र नैतिक नेतृत्वभन्दा चुनावी गणित, स्वार्थ, प्रचार र भीड व्यवस्थापनलाई प्राथमिकता दिइन्छ । यस्तो अवस्था आएको समाजमा मार्गदर्शकहरू भन्दा नारा बनाउनेहरू लोकप्रिय हुन्छन् । नेतृत्वको नैतिक उच्चता पतन हुँदै जान्छ ।
गुरुसत्ता कमजोर हुँदै जादा समाजमा व्यक्ति, संस्था वा नेतृत्व नैतिक रूपमा चुक्छन्, स्वार्थमा डुब्छन्, भष्ट्राचार वा दोगलापन प्रदर्शित गर्छन् । मूल्यवान र सत्य ज्ञानको ठाँउमा प्रचार, भ्रम, छद्म–बौद्धिकता र सतही ज्ञान हावी हुन थाल्छ । यसले सही र गलत छुट्याउने सामर्थ्य नै धमिलिन थाल्छ । ज्ञानका स्रोतहरू राजनीतिकरण, व्यावसायीकरण वा लोकप्रियताको दलदलमा फस्दै जान्छन ।
पश्चिमी देशहरु सभ्य र विकसित हुनुमा “गुरुसत्ता” अबधारणाको महत्वपूर्ण भुमिका छ । गुरुसत्ताले ज्ञान, अनुशासन, मूल्य, नेतृत्व,मार्गदर्शन र सत्यप्रति प्रतिबद्धतामा आधारित सांस्कृतिक शक्ति वा नैतिक अधिकारलाई बुझाउछ । पश्चिमम यो अधिकारलाई बलियो बनाउदै लगियो । ती देशहरुमा विद्यालय, विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूले केवल पाठ्यपुस्तकको ज्ञान मात्र दिदैनन विचारको स्वतन्त्रता, आलोचनात्मक सोच, श्रमप्रति सम्मान, नियमको पालना, सामाजिक जिम्मेवारी र समतामूलक चेतना जस्ता मूल्यहरू पीढीगत रूपमा हस्तान्तरण गर्दछन । यो नै आधुनिक अर्थमा गुरुसत्ताको निरन्तर अभ्यास हो, जसले समाजलाई अनुशासित, तर्कशील, जिम्मेवार र लक्ष्य–केन्द्रित बनाउछ । ती देशमा शिक्षकलाई ” जागिरे ” को रुपमा बिकास गरिएन , बास्ताबमा ” गुरु ” को रुपमा बिकास गरियो । स्कूल, विश्वविद्यालय, न्याय प्रणाली, अनुसन्धानकर्ता, दार्शनिक, वैज्ञानिक, इतिहासकार, साहित्यकार आदि सबैलाई मार्ग दर्शकको रुपमा विकसित गरियो । गलत प्रवृत्तिलाई चुनौती दिने, वैज्ञानिक प्रमाणलाई प्राथमिकता दिने र सार्वजनिक नीति मूल्य र ज्ञानमा आधारित गर्ने संस्कार बसालियो । यही संस्थागत गुरुत्वले नागरिकलाई कानूनभन्दा माथि कोही हुँदैन भन्ने चेतना दियो, व्यक्तिगत मेहनतलाई सामूहिक प्रगतिसँग जोड्यो र राज्यलाई सेवा उन्मुख बनायो। जिम्मेवार बनायो । त्यस्ता सस्थाहरुमा राजनिती गर्ने भन्दा पनि राजनितिलाई दिशा निर्देश गर्न सक्ने गरि सक्षम बनाउदै लगियो ।
एक बलियो गुरु सत्ता विकसित गर्दै लगियो जसले त्यहाँको ज्ञान/संस्कृति, नीतिगत ईमानदारी, शैक्षिक कठोरता, अनुसन्धान केन्द्रित सोच र समाजलाई अघि बढाउने बौद्धिक नेतृत्व गर्यो । यी सबै गुरुसत्ताका रूपान्तरित आधुनिक स्वरूप हुन । शिक्षा पैसा सङ्ग भन्दा पनि क्षमता सङ्ग जोड्दै लगियो । राज्यको लगानी बढाउदै लगियो ।जसले गुरु सत्ता बलियो बनायो फलस्वरूप ती देश विकसित छन । स्थिर छन । सभ्य छन र अनुशासित छन ।
हाम्रो देशमा गुरु सत्ता दिन प्रतिदिन कमजोर बनाउदै लगियो । आधुनिक शिक्षाको नाममा मौलिकतालाई लत्याउदै ब्रीटिसले आफ्ना औपनिबेसिक देशहरुका लागि तयार गरेको क्लर्क तयार गर्ने पाठ्यक्रम लागू गरियो । “नया शिक्षा” ले त्यसको आधारशिलाको कार्य गर्यो । नैतिकता र आफ्नो धरालतिय ज्ञान/आफ्नो उद्भब ज्ञान दिने नैतिक शिक्षा र सस्कृत शिक्षा पाठ्यक्रम बाटै हटाइयो । शिक्षामा निजीकरण गरियो । शिक्षामा वैदेशिक लगानी भित्र्याउदै बिश्व बैंक लगायत अन्तरास्ट्रिय बित्तीय सस्थाको ससर्त रिण भित्र्याइयो । यसले हाम्रो मौलिकता र आबस्यकतालाई कहिकतै प्राथमिकता दिएन ।
विद्यालय शिक्षकहरुलाई राजनितिक कार्यकर्ताको रुपमा जबर्जस्त बिकास गर्न थालियो । शिक्षकहरु कक्षा कोठामा कम राजनितिक बैठक र चुनाबी प्रचारमा बढी भेटिने अबस्थाको सिर्जना भयो । राजनितिक भर्ती केन्द्रको रुपमा विद्यालयहरु विकसित गरिए । पहुच , पैसा र शक्तिको आडमा शिक्षण पेशा जागिर पाउने उर्बर सम्भावनाको ठाउको रुपमा रुपान्तरित भयो । कार्यकर्ता ब्यबस्थापनकै लागि जथानाम विश्वविद्यालय खोलियो । क्षमताको आधारमा भन्दा पनि राजनितिक आस्थाको आधारमा भिसी, रजिस्ट्रार र क्याम्पस प्रमुखहरु नियुक्त गर्ने परिपाटी बिकसित भयो । आधारभुत विद्यालय खोल्नु भन्दा सहज क्यापस खोल्नु हुन गयो । दक्षिण एसियाकै राम्रो “टियु” अल्मोस्ट कोल्याप्सको अबस्थामा पुग्न थाल्यो । अनुसन्धान केन्द्रहरु प्राभाबहिन बन्दै गए । अनुत्पादक पाठ्यक्रमले दक्ष जनशक्ति उत्पादन गर्ने कुरै भएन । विद्यार्थी सङ्गठनहरु/स्वबियुहरु वास्तविक विद्यार्थी भन्दा बाहिरका राजनितिक कार्यकर्ता ब्यबस्थापन गर्ने ठाउँको रुपमा बिकसित हुँदै गए । निरपेक्षताको नाममा नैतिकता र सदाचारिता सामाजिकृत गराउने ऐतिहासिक सास्कृतिक सस्थाहरु निस्कृय हुँदै गए । नैतिक धरातल कमजोर हुँदै गयो । कमजोर चेत , अनैतिक धरातल , कमजोर पाठ्यक्रम , छिपछिपे छनोट पद्धति , राजनितिक हस्तक्षेप आदिका कारण स्थायी सम्यन्त्रका लागि छनोट भएकाहरुमा राष्ट्रसँग सम्बन्धित मूल्य/मान्यता, नैतिक नेतृत्व र अनुशासनात्मक चेतना बलियो हुँदैन हुने कुरै भएन । पछिल्लो पटक झन बढी भ्रस्टाचारका घटनाहरु बढ्नु , युवा अधिकृत सबै भन्दा बढी भ्रस्टाचारमा सम्लग्न भएको तथ्यांक अक्तियारले सार्बजनिक गर्नु यसकै उदाहरण हो । उत्पादन , नैतिकता , सीप , अनुसासन , आफ्नो धरातल , आफ्नो आबस्यकता सङ्ग युवालाई कहिँ कतै जोड्दै जोडिएन । राजनीति पेशाको रुपामा बिकसित भयो । राजनितिक लेपले योग्यता प्रमाणित गर्न थाल्यो । गुरुहरुलाई ” झोले कार्यकर्ता ” को रुपमा रुपान्तरण गरियो । जसले स्कूल, विश्वविद्यालय, न्याय प्रणाली, अनुसन्धानकर्ता, दार्शनिक, वैज्ञानिक, इतिहासकार, साहित्यकार, अदि सबैलाई मार्ग दर्शकको रुपमा बिकास गर्न सकेन । गुरुसत्ता अत्यन्तै कमजोर भएर गयो । जसको फल अहिले हामी नेपालीहरूले भोगिरहेका छौ ।

प्रतिक्रिया

सम्बन्धित खवर