बर्दिया,मंसिर १६ / जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा सूचीकृत हुनेमा धेरै जेनजी उमेर समूहका देखिए पनि उनीहरूलाई कार्यालयसम्म ल्याएर सहजीकरण गर्नेमा ठुला दलका कार्यकर्ता सक्रिय थिए । यसबाट दलहरू चुनावको नतिजा आफ्नो पक्षमा पार्न भित्रभित्रै लागेको बुझिन्छ ।
सरकारले सुरक्षाको प्रत्याभूति गर्न सके फागुन २१ मा चुनाव हुन सक्ने एमाले गुलरिया नगर इन्चार्ज अमर खड्काले बताए । ‘जेनजीका नाममा घुसपैठ गरेर नेताका कार्यक्रम बिथोलेपछि कसरी चुनाव हुन्छ’, उनले भने, ‘सरकारले नेताहरुलाई मतदातासँग भेट गर्ने वातावरण मिलाउन सकेको छैन, सुरक्षा दिन सकेको छैन । यस्तो अवस्थामा कसरी चुनाव हुन्छ ?’
प्रतिनिधिसभा सदस्यका लागि बर्दियामा दुई वटा निर्वाचन क्षेत्र छन् । कुनै समय चार वटा निर्वाचन क्षेत्र थिए । विगतका परिणाम हेर्दा मतदाताले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रलाई निर्वाचित गरेको देखिन्छ । पछिल्लो निर्वाचन, २०७९ मा क्षेत्र नं. २ बाट नागरिक उन्मुक्ति पार्टी विजयी भएको थियो ।
वर्तमान सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन मिति फागुन २१ गतेलाई तोकेको छ । तर सरकारले चुनावको वातावरण बनाउन नसकेको नेपाली कांग्रेस बर्दियाका सभापति अरुण प्रताप सिंह राठोरले बताए । ‘चुनाव हुनुपर्छ भन्नेमा नेपाली कांग्रेस छ, चुनाव गराउने काम सरकारको हो,’ राठोरले भने, ‘आजभोलि जताततै अराजक गतिविधि देखिन्छ, अशान्तिको वातावरणमा मतदाताले कसरी स्वतन्त्र रुपमा मतदान गर्न सक्छन् । वर्तमान सरकारले तोकेको मितिमा चुनाव गराउनेमा विश्वास लागेको छैन ।’
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनले देशको राजनीतिमा परिवर्तन ल्याउने आशा गरे पनि त्यसअनुसार हुन नसकेको नयाँ पुस्ता बताउँछ । पुराना दलको कार्यशैलीबाट आजित र असन्तुष्ट युवाले नयाँपनको आशामा आन्दोलनमा होमिए पनि सकारात्मक नतिजा नआएको भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । जेनजीका बलमा बनेको सरकारले मूल कार्यादेश निर्वाचन भएको बताउँदै आएको छ । पुराना ठुला दलले चुनावी गतिविधि नगर्दा चुनाव फागुनमा नहुने हो कि भन्ने आंशका पनि छ । अन्ततः पुराना दल चुनावमा सहभागी हुने युवा पुस्ताको बुझाइ छ ।
कतिपय दल निर्वाचप्रति सकारात्मक देखिएका छन् भने कतिपय दल सरकारले निर्वाचनको वातावरण बनाउन नसक्दा फागुनमा निर्वाचन हुनेमा संशकित छन् । सरकार भने घोषित मितिमै निर्वाचन गराउने तयारीमा जुटेको छ ।
अहिले समाजमा जुन खालका गतिविधि भइरहेका छन्, त्यसले शान्ति सुरक्षामा सन्त्रास फैलिएको एमाले बर्दियाका अध्यक्ष शालिकराम अधिकारीले बताए । ‘यही अवस्था कायम रहेमा कसरी तोकिएको समयमा चुनाव होला भन्ने आशंका छ,’ अधिकारीले भने, ‘अवस्था सुधार्न सरकारले प्रयत्न ग¥यो, जिम्मेवार निकाय जिम्मेवार बन्न सक्यो र सुरक्षा संयन्त्रले उच्च मनोबलका साथ काम गर्न सकेमा भने चुनाव नहोला भन्न सकिँदैन ।’ जनतासँग जाने, संगठन व्यवस्थित गर्नेलगायत पार्टीका नियमित कार्य भइरहेको उनले बताए ।
तर जिल्लामा दलका नेता तथा कार्यकर्ताले देखिने गरी चुनावको तयारी गरिरहेको देखिँदैन तर भित्रभित्रै भने उनीहरू तयारीमा जुटेका छन् । दलहरूमा देखिएको दोहोरो चरित्रले तोकिएकै समयमा निर्वाचन हुन्छ या हुँदैन भन्नेमा मतदातामा पनि अन्योल देखिन्छ ।
बर्दियामा तीन लाख २५ हजार मतदाताले मतदान परिचयपत्र बनाएको निर्वाचन कार्यालयका प्रमुख लालबहादुर मल्लले बताए ।
अराजक स्थिति आउन दिनु हुन्न

देवेन्द्र पान्डे, अध्यक्ष, गुलरिया उद्योग वाणिज्य संघ
दलहरुले गतिविधि गर्न नसक्दा फागुन २१ मा चुनाव हुने नहुनेमा आशंका छ । दलका नेताले मतदातालाई भेटन पाउँदैन भने चुनाव कसरी हुन्छ ? चुनावको वातावरण बनाउन दलहरूबिच राजनीतिक सहमति हुनुपर्छ र सरकारले पनि त्यसमा सहजीकरण गरी सुरक्षाको भरपर्दो प्रबन्ध मिलाउनुपर्छ । देशमा अराजक स्थिति आउन दिनु हुन्न । समयमै निर्वाचन नभए अराजक स्थिति आउन सक्छ । निर्वाचनमार्फत सहज तरिकाले मुलुकलाई निकास दिन चुनाव हुनुपर्छ ।
समृद्धिको ढोका खोल्नुपर्छ

सुरेश पन्थ, नेपाली कम्युनिस्ट पार्टी
निर्वाचनपछि बन्ने सरकारले युवाका जायज माग सम्बोधन गर्नपर्छ । त्यसका लागि पनि चुनाव हुनुपर्छ । सरकारले सुरक्षा व्यवस्था मिलाउनुपर्छ । जेनजी पुस्ताले सुशासन कायम र भ्रष्टाचार अन्त्यका लागि आन्दोलन गरेको हो ।
अब देशमा कर्मचारी र नेता सुध्रिनुपर्छ । निर्वाचनको तयारी गर्न प्रशस्त समय छ । निकास र विकासका लागि निर्वाचन जरुरी छ । निर्वाचन सफल पार्न सबैले हातेमालो गर्नुपर्छ । चुनावमा नयाँ अनुहारलाई जिताउनुपर्छ । त्यसपछि समृद्धिको ढोका खुल्छ ।
सुशासन कायम गर्न चुनाव

भेषराज पौडेल, निर्माण व्यवसायी
चुनाव हुनपर्छ । अनिर्णयकोे बन्दी हुनु हँुदैन । सुशासन, स्थिरता र रोजगारी सिर्जनाका लागि नयाँ जनप्रतिनिधि आउनुपर्छ । जेनजी पुस्ताको माग सम्बोधन गर्न पनि चुनाव हुनुपर्छ ।
देशमा अराजक गतिविधि बढिरहेकाले त्यसलाई नियन्त्रण गरी सरकार अघि बढ्नुपर्छ । सामाजिक विद्रोह बढिरहेको छ । जेनजीका माग पूरा हुनुपर्छ । उद्योगी–व्यवसायीले सुरक्षा अनुभूति गर्न सकेका छैनन् । एउटै व्यक्तिले लघु बित्त, बैंक, सहकारी, इन्सुरेन्स कम्पनी, दल लगायतमा नियन्त्रणमा राख्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।
अन्योल चिरेर अघि बढ्नुपर्छ

राजेन्द्र प्रसाद धिताल, उपप्राध्यापक
सरकारले तोकेको मितिमा चुनाव हुन्छ भन्न सक्ने स्थिति छैन । देशलाई राजनीतिक संक्रमणबाट निकास दिन चुनाव हुनैपर्छ । जेनजीले उठाएको मुद्दा सम्बोधन गर्न पनि नयाँ जनादेशबाट सरकार बन्नुपर्छ । जिम्मेवार नागरिक चुनावको विपक्षमा जान मिल्दैन । चुनावका लागि दल चाहिन्छन् ।
विशेषगरी एमालेले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गरिरहेको छ । यसले केही अन्योल सिर्जना भएको छ । सरकारले दलहरूलाई विश्वासमा लिएर शान्ति सुरक्षाको व्यवस्था मिलाउनुपर्छ ।
चुनाव हुने निश्चित छैन

सोम खड्का, अधिवक्ता
बंगलादेशमा पनि जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले ६ महिनाभित्र चुनाव गराउने भनेको थियो तर अहिलेसम्म भएको छैन नेपालमा पनि यो सरकारबाट तोकिएको मितिमै चुनाव हुनेमा शंका छ ।
निर्वाचन डर त्रास र भयरहित वातावरणमा हुनुपर्छ । तर जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जेलबाट भागेका कैदीबन्दी सम्पर्कबाहिर छन् भने प्रहरीबाट लुटिएका हतियार पनि फिर्ता भएका छैनन् । यसको असर निर्वाचनमा पर्न सक्छ । यसले गर्दा समयमै चुनाव हुनेमा अन्योल छ ।स्रोत नागरिकन्युज

