बर्दिया,मंसिर १८ / चितुवाको आक्रमणबाट एक युवती घाइते भएकी छन् । बारबर्दिया नगरपालिका–४ की १८ वर्षीया अजिता थारु चितुवाको आक्रमणबाट मंगलबार साँझ घाइते भएकी हुन् । चितुवाले आक्रमण गर्दा युवतीको दुवै हातमा गहिरो चोट लागेको प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिएका छन् ।
घर नजिकै खेतमा राखेको पराल लिन गएका बेला परालमा बसेको चितुवाले छोरीलाई आक्रमण गरेको जन्जिर थारुले बताए । ‘गाउँको बीचमा रहेको खेतमा पराल राखिएको छ, १३ वर्षीया छोरी अनुसा र १८ वर्षीय अजिता दुई बहिनी पराल लिन गएका थिए, पराल राखिएको ठाउँमा पुग्ने बित्तिकै परालमा बसेको चितुवाले आक्रमण ग¥यो,’ उनले भने,‘दिदीलाई चितुवाले आक्रमण गर्दा बाहिनी अनुसा जोडले कराउँदा चितुवा छोडेर भागेको हो ।’ बर्दिया अस्पतालमा उपचारपछि मंगलबार राति नै घर फर्किएको उनले जनाए ।
यस्तै गत शुक्रबार काला बेलभार सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका–११ की ५९ वर्षीय गोपी थारुको ज्यान गएको थियो ।
चालु आर्थिक वर्षको साउन देखि यता चितुवाको आक्रमणबाट तीन महिलाहरुको ज्यान गईसकेको र ७ जना घाईते भईसकेको डिभिजन वन कार्यालयका सुचना अधिकारी शिवबहादुर केसीले बताए । ‘अस्ति महिलालाई आक्रमण गर्ने चितुवालाई नियन्त्रणमा लिन लगातार दुई वटा केज राखिरहेका छौं,’उनले भने,‘जडान गरिएको क्यामरामा चितुवा देखिन्छ । तर,केजमा परेको छैन ।’

