अभिनव कुमार पाठक
बर्दिया, मंसिर २१ / लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–६ मैनापोखरबाट लागु औषधसहित दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । मोटरसाइकलमा रहेका दुवै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ठुलो मात्रामा लागु औषध फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका –११ का २६ वर्षिय प्रवेश चमार र अन्य एक युवक रहेका छन् । दुवै जनाको साथबाट ५० ग्राम ९ सय ७० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको गिलो पदार्थ फेला परेको छ । डिजिटल तराजुसमेत बरामद भएकोले उनीहरु लागु औषधका कारोबारी हुन सक्ने प्रहरीको आँकलन छ ।
दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिए ।

