आफ्नो बिषय , आफ्नो क्षेत्राधिकार र आफ्नो ज्ञान भन्दा बाहिरका कुरामा सायद त्यति ध्यान हुदैन र राख्नु पनि हुदैन । छिपछिपे ज्ञानको अर्थ पनि त हुदैन । ज्ञान गहिरो हुनुपर्छ । नत्र बोल्नु भनेको आफै कमजोर हुनु हो । म चुपचाप ग्राउन्डमा अशोकको वृक्ष तल बसिरहेको छु ।
दश बज्न अझ पन्द्र मिनेट बाकी छ । अशोक वृक्ष तल म सुर्यताप को मजा लिदै छु । चिसो महिनामा सुर्यताप भन्दा प्रीय अरु केही हुन सक्ने कुरै हुदैन । म गेट तर्फ हेरिरहेको छु । गेटबाट एउटा उत्साह सहित झोला भरी माला लिएर एउटा चिरपरिचित ड्रेसमा एक महिला छिर्छिन । हो , महिला स्वयंसेबिकाको ड्रेसमा ।
उनी तलबी होइनन । उनको नियमित हाजिरी पनि हुदैन । न तलब , न पेन्सन , न ग्रेड न त अरु नै । न लोभ , न प्रमोसन , न त तक्मा नै । मात्र एउटा परिचित पोशाक मात्र । उनको उत्साह नै बेग्लै छ । उनी नजिक आइन । मैले सोधे – के थियो ? बिहानै आउनु भयो नि ? उनले जवाफ दिइन – आज महिला स्वयंसेबिका दिवस सर ! आज ” बाइसौ राष्ट्रिय महिला सामुदायिक स्वयंसेबिका दिवस ” रहेछ ।
सरकारले निर्धारण गरेका स्वास्थ्यका लक्ष्यहरूलाई पुरा गर्न सहयोग गर्ने र स्थानीयस्तरमा सामुदायिक सहभागिता बढाउने उद्देश्यअनुरूप नेपाल सरकारले आर्थिक वर्ष २०४५/४६ (सन् १९८८) देखि स्वास्थ्य स्वयं सेवक कार्यक्रमको शुरूवात गरेको थियो । पछि सो कार्यक्रमलाई महिला स्वास्थ्य स्वयं सेविका कार्यक्रमको रूपमा परिणत गरियो । आमा समूहको संलग्नतामा समुदायमा स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूमा सहयोग गर्न सरकारले तालिममार्फत् स्वयंसेवी तयार पारी कृयाशिल बनाउँदै आइरहेको छ । यी स्वयंसेवीहरूलाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका अर्थात् अंग्रेजीमा Female Community Health Volunteer भनिन्छ । संक्षेपमा यी स्वयसेविकाहरूलाई एफसीएजभी (FCHV) भन्ने गरिएको छ ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमको लक्ष्य स्वास्थ्य क्षेत्रमा संचालन गरिने कार्यक्रम तथा गतिविधिहरूमा सामुदायिक संलग्नता मार्फत राष्ट्रिय लक्ष्यहरूलाई टेवा गर्नु हो । यसअन्तर्गत महिला सशक्तिकरणका लागि ज्ञान र सीपहरू प्रदान गर्ने, स्वास्थ्यसम्बन्धी विषयहरूमा चेतना अभिवृद्दी गर्ने र स्वास्थ्य सेवा प्रवर्धनमा स्थानीय निकायहरूको संलग्नता बढाउने जस्ता बिषयहरू पनि पर्दछ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमको अन्य उद्देश्यहरूमा महिलाहरुलाई स्वास्थ्य समस्या समाधानका लागि ज्ञान र सीप प्रदान गरी सक्रिय बनाउने, स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूलाई समुदायसँग जोड्नको लागि फोकल व्यक्तिको रूपमा स्व-प्रेरित स्वयंसेवकहरू तयार गर्ने, समुदायमा आधारित स्वास्थ्य कार्यक्रमहरूको लागि सामान्य स्वास्थ्य सेवाहरू प्रदान गर्न स्वयंसेवकहरू तयार गर्ने, जनताको स्वास्थ्य सुधारमा समुदायको सहभागिता बढाउने, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरूलाई स्वास्थ्य क्षेत्रको उत्प्रेरकको रूपमा विकास गर्ने तथा स्वास्थ्य क्षेत्रमा माग सृजना गरी स्वास्थ्य सेवाको उपयोगिता बढाउनु पर्दछन् ।
५ डिसेम्बरका दिन मनाइने यो दिवस अन्तर्राष्ट्रिय स्वयंसेवक दिवससँग जोडिन्छ र महिला स्वयंसेविकाको योगदानलाई राष्ट्रिय स्तरमा सम्मान गर्ने अवसरको रूपमा रहेको छ। यसले महिलालाई स्वास्थ्य सेवा, सामाजिक जागरुकता र नेतृत्वमा सक्रिय भूमिका लिन प्रेरित गर्ने काम गर्छ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका( FCHV) हरूले मातृ–शिशु स्वास्थ्य, खोप, पोषण, परिवार नियोजन र प्राथमिक स्वास्थ्य सेवाका साथै रोग प्रतिकारक जानकारी र आपतकालीन राहत कार्यक्रमहरू सञ्चालन गर्दै समुदायको जीवनस्तर सुधार्न योगदान पुर्याएका छन । यसले ग्रामीण, दुर्गम र सुदूर क्षेत्रका मानिसहरूलाई स्वास्थ्य सेवासम्म पहुँच पुर्याउन मद्दत गरेको छ।FCHV दिवसले समाजका अन्य महिलाहरुलाई पनि सेवा र नेतृत्वमा सहभागी हुन प्रेरित गर्दछ । यसले स्वास्थ्य प्रणाली र समुदायबीचको सम्बन्ध मजबुत बनाएको छ।
महिला स्वयंसेविकाको सक्रिय उपस्थिति र योगदानले स्वास्थ्य, शिक्षा र सामाजिक जागरुकता फैलाउन दीर्घकालीन प्रभाव परेको छ। संकट र महामारीको समयमा उनीहरूले स्वास्थ्य जानकारी र प्राथमिक उपचार प्रदान गरेर समुदायको जीवन र स्वास्थ्य रक्षा गर्ने काममा योगदान पुर्याइरहेका छन । यसैले FCHV दिवस केवल सम्मानको अवसर नभएर महिला सशक्तिकरण, समाजसेवा र स्वास्थ्य प्रणाली सुधारको प्रतीक बनेको छ। यसले समाजमा महिलाको सक्रिय भूमिका स्थापित गर्दै, स्वास्थ्य सेवा र सामाजिक चेतनाको पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कार्य जारी राखेको छ।
FCHV कार्यक्रमको सुरुवात २०४५/०४६ मा २७ जिल्लामा गरिएको थियो। प्रारम्भिक चरणमा यो अबधारणा मातृशिशु स्वास्थ्य, खोप, पोषण, परिवार नियोजन र प्राथमिक स्वास्थ्य सेवामा संलग्न महिला स्वयंसेविकाको प्रशिक्षणबाट शुरु गरिएको थियो । पछि कार्यक्रम विस्तार गर्दै गर्दा देशभर अहिले लगभग ५२,००० भन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका अहिले सक्रिय छन्। उनीहरूले गाउँ र शहरी क्षेत्रका दुर्गम ठाउँसम्म स्वास्थ्य सेवा पुर्याउने , समुदायमा जनचेतना फैलाउने र स्वास्थ्य शिविर सञ्चालन गर्ने तथा विपद् व्यवस्थापनमा योगदान पुर्याउने जस्ता कार्यमा भूमिका निर्वाह गर्दै आएका छन् । स्वास्थ्य अभियानमा निःस्वार्थ र निःशुल्क सहयोग गर्न भन्दै तत्कालीन गाविसमा २०४५ र नगरपालिकामा २०५२ सालबाट सरकारले स्वास्थ्य स्वयंसेविकाहरू राख्ने नियम बनाएको हो ।
वास्तवमा समाजमा बोल्न नसक्नेको आवाज, हिँड्न नसक्नेको खुट्टा र सुन्न नसक्नेको इशारा हुन् स्वास्थ्य स्वयंसेविका । यद्यपि, महिला स्वास्थ्य स्वयंसेविकाका मामिलामा ‘काम गर ज्यालाचाहिँ दिन्नौँ भन्ने राज्यको नीति’ छ । यही कारण झण्डै ३६ वर्षअघिदेखि स्वास्थ्य अभियानमा सक्रिय महिला स्वास्थ्य स्वयंसेविकाको काम गर्ने आत्मबल भने गिरेको छ ।
“रोग लागेर उपचार गर्नु भन्दा रोगै लाग्न नदिनु उत्तम” भन्ने आदर्श वाक्यको कार्यान्वयनमा महिला स्वयम् सेबिकाहरुको भुमिका अग्रपंक्तिमा छ । सामुदायिक स्तरमा सामुदायिक स्वास्थ्य , महिला ससक्तिकरण र मानबिय बिकासको सूचकांक पूरा गर्नमा सबै भन्दा ठूलो योगदान अहिले महिला स्वास्थ्य स्वयंसेबिकाहरुको नै छ । यति मात्र होइन खुलादिशामुक्त समाजको निर्माण र दिगोपना , पुर्णसरसफाईको अभियान, विद्यालय भर्ना अभियान , बालबिबाह मुक्त समुदाय निर्माण , महिलाहिंसा बिरुद्द्को अभियान र जातीय भेदभाब बिरुद्धको अभियानको मोर्चामा पनि तिनै स्वयंसेबिकाहरु अग्रपंक्तिमा छन । मानवीय बिकासको वृद्धि सूचकांकहरुमा प्रगति हासिल गरेर नेपाललाई कसैले किकासशिल मुलुकको रुपमा दर्ज गरेको छ भने त्यसको सबै भन्दा ठूलो भुमिका महिला स्वयंसेबिका हरुको नै छ । राज्यले हालसम्म खरवौ खर्च गरेर उपलबध गर्न नसकेको उपलब्धि नि:शुल्क रुपमा FCHV ले राज्यलाई उपलब्ध गराइरहेका छन र राज्यको शाख बचाई रहेका छन । समुदाय परिचालनको उच्चतम स्वरुप FCHV स्वरुप नै हो ।
नेपालका महिला स्वास्थ्य स्वयंसेविकाहरू (FCHV) ग्रामीण र दुर्गम क्षेत्रका समुदायमा स्वास्थ्य सेवा पुर्याउने प्रमुख बहाक हुन्। उनीहरूले मातृशिशु स्वास्थ्य, खोप, पोषण, परिवार नियोजन र जनचेतना कार्यक्रम सञ्चालन गर्दै समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेका छन्।
यसमा राज्यको ध्यान पर्याप्त छैन। स्वयंसेविकाहरूले आफ्नै समय, शक्ति र सिमित खर्च गरेर सेवा पुर्याइरहेका छन । जीवन यापन श्रोत नपाउनु , तालिमको सीमितता, स्वास्थ्य सामग्रीको अप्राप्तयता र राज्य सहयोगको कमीले उनीहरूको काममा चुनौती ल्याएको छ । नियमित जिम्मेवारीले मानसिक तनाब पनि दिइरहेको छ । महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदान केवल स्वास्थ्य सेवामा सीमित छैन । उनीहरूले समुदायमा सशक्त महिला, स्वस्थ परिवार र दिगो स्वास्थ्य प्रणालीको निर्माणमा आधार तयार गरेका छन्। राज्यले उनीहरूको कामलाई सम्मान, प्रशिक्षण र दीर्घकालीन भबिस्य जिबिकोपार्जनमा सुनिस्चितता मूल्याङ्कन गर्न आवश्यक छ। यसो गर्दा उनीहरूको योगदान अझ प्रभावकारी र दिगो बन्न सक्छ ।
महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरूको योगदान समाजमा सकारात्मक रूपमा ग्रहण भइरहेको छ भन्नेमा सन्देह छैन । उनीहरूको सेवा स्वयंसेवी प्रकृतिको भएकाले सरकारको उनीहरूलाई प्रदान गर्ने प्रोत्साहन र सुविधाहरू न्युनतम छन् । तथापि स्वयंसेविकाहरूलाई दिइएको जिम्मेवारी र भूमिका अनुरूप ती प्रोत्साहन र सेवा सुविधाहरू पर्याप्त नभएको गुनासो स्वयंसेविकाहरूबाट आउने गरेको पाइन्छ । उनीहरूको गुनासोलाई संवोधन गर्न कतिपय स्थानीय निकायहरूले आफै पनि पहलकदमी लिने गरेका छन । कतिपय अवस्थामा राजनीतिक वृतबाट हुने सम्बोधनमा उनीहरूको सेवा र सुविधालाई लिएर विभिन्न बाचाहरू पनि गर्ने गरेको पाईन्छ । तर यो कार्यक्रमको परिकल्पना नै स्वंयसेवाको भावनाबाट प्रेरित भएकाले यसलाई अन्य नियमित पारिश्रमिक प्राप्त हुने खालको जिम्मेवारीसँग तुलना गरी चित्रण गर्नु उपयुक्त हुँदैन ।
उनीहरूको भूमिकालाई स्वयंसेवाको अन्तर्यसँग जोडेर नै हेर्नुपर्ने हुन्छ । तथापि, स्वयंसेवाको क्रममा उनीहरूले व्यतित गर्नुपर्ने समय, सेवाभाव र समर्पणको उचित सम्मानका लागि प्रोत्साहन र सुविधाको पनि जरूरी छ । यसलाई अँझै वैज्ञानिक बनाउनु जरूरी छ ।
अब दस बज्नै लागेको छ । भटाभट मोटरबाइकहरु गेट भित्र छिर्दैछन । उनलाई भने दस बज्नुसङ्ग मतलब छैन । उनलाई त उद्देश्यसङ्ग चासो छ । “आज बाइसौ राष्ट्रिय महिला सामुदायिक स्वयंसेबिका दिवस ! ” फूलले भरिएको झोला लिएर उनी हल तर्फ लागिन । म हाजिरी कोठातर्फ । अब एघार बजे हलमा हाम्रो पुन: भेट हुनेछ ।

