बारा, मंसिर २१ / जय मातृभूमि पार्टीले मधेस प्रदेशको बारा जिल्लामा आफ्नो महत्त्वपूर्ण प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । पार्टी अध्यक्ष सुरेश कुमार कार्की (अवकाश प्राप्त उपरथी), वरिष्ठ नेताहरू रोमलाल गिरी, उत्तम गिरी, भानु के.सी. तथा प्रवक्ता डा. खेम क्षेत्री को प्रमुख सहभागिता रहेको उक्त कार्यक्रममा जिल्ला पदाधिकारी र मधेस प्रदेशका करिब ३०० जना कार्यकर्ताको उपस्थिति थियो । कार्यक्रममा देशको वर्तमान अवस्थाको गहिरो विश्लेषण, आगामी चुनावी रणनीति, सङ्गठन विस्तार र पार्टी अनुशासन जस्ता आधारभूत विषयहरूमा गहन छलफल गरियो। नयाँ राजनीतिक दलको रूपमा, सहभागीहरूले पार्टीको विधान र भविष्यको मार्गचित्र बारे स्पष्ट धारणा बनाएका छन्, जसले जय मातृभूमि पार्टीलाई नयाँ दिशा दिने विश्वास गरिएको छ।
अध्यक्ष कार्कीले प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको आगामी कार्यदिशा र प्रतिबद्धताहरूलाई स्पष्ट पारे । उनले पुरानो दलहरूमा व्याप्त केन्द्रीकृत निर्णय प्रक्रिया र आन्तरिक लोकतन्त्रको कमी लाई चिर्दै जय मातृभूमि पार्टीलाई ’सच्चा लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्ने’ प्रतिबद्धता व्यक्त गरे । उनले भने, “हाम्रो दलमा आन्तरिक लोकतन्त्रलाई कडाइका साथ लागू गरिनेछ ।“ यसका लागि तहगत समितिको गठन, नेतृत्व चयनमा कुनै गुटबन्दी बिना खुला र निष्पक्ष निर्वाचन तथा पारदर्शी आर्थिक व्यवस्थापनलाई विधानमा कडाइका साथ लागू गरिनेछ । लोकतन्त्रको संस्थागत विकासका लागि दलभित्रका प्रत्येक सदस्यलाई नीति निर्माण प्रक्रियामा सहभागी गराइनेछ र नेतृत्वलाई सदस्यप्रति पूर्ण जवाफदेही बनाइनेछ ।
अध्यक्ष कार्कीले पार्टीको प्राथमिक लक्ष्य केवल सङ्गठनको आकार बढाउनु मात्र नभई, जनसरोकारका मुद्दाहरूमा केन्द्रित हुनु रहेको बताए । उनका अनुसार, “सङ्गठन विस्तार प्रारम्भिक आवश्यकता हो, तर हाम्रो अन्तिम लक्ष्य नेपाली जनताको सेवा गर्नु हो।“ जय मातृभूमि पार्टीले सुशासन मर्म अनुसार काम गर्ने र आर्थिक विकास र सामाजिक न्याय जस्ता जनसरोकारका मुद्दाहरूलाई पार्टीको मुख्य एजेन्डा बनाउनेछ । विशेष गरी मधेस प्रदेशको विकासलाई प्राथमिकता दिदै पार्टीका सम्पूर्ण नीति तथा कार्यक्रमहरूलाई जनउत्तरदायी बनाइनेछ, जसले जनताको प्रत्यक्ष जीवनस्तरमा सुधार ल्याउनेछ।
अध्यक्ष कार्कीले वर्तमान राजनीतिक ध्रुवीकरणलाई कम गर्दै राष्ट्रिय एकतालाई प्राथमिकता दिने बताए । उनले सामाजिक सद्भाव र समावेशितालाई व्यवहारमा उतार्दै सबै वर्ग, जातजाति र समुदाय लाई समेटेर अगाडि बढ्ने घोषणा गरे । उनले प्रशिक्षण कार्यक्रमहरूको महत्त्वमा जोड दिदै भने, “यस प्रकारका कार्यक्रमहरूले हाम्रा कार्यकर्तामा वैचारिक स्पष्टता ल्याउनुका साथै लोकतान्त्रिक आचरण कोविकास गर्न मद्दत पु¥याउँछ ।“ अन्तमा, अध्यक्ष कार्कीले जय मातृभूमि पार्टीले नयाँ राजनीतिक विकल्पका रूपमा आफूलाई स्थापित गर्ने र नेपालको लोकतन्त्रलाई संस्थागत गर्न ऐतिहासिक भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

