अभिनव कुमार पाठक
बर्दिया,मंसिर २२/ बर्दिया स्कुल कप क्रिकेट २०८२ प्रतियोगिताको उद्घाटन खेलमा सनराइज बोर्डिङ स्कुल गुलरिया विजय भएको छ । जिल्ला क्रिकेट संघ बर्दियाको आयोजनामा आइतबार उद्घाटन खेलमा सनराइज स्कुलले जनज्योति बोर्डिङ स्कुललाई ४१ रनले पराजित गरेको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको सनराइज बोर्डिङ स्कुलले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १ सय ६० रन बनाउन सफल भएको थियो । सनराइज बोर्डिङ स्कुलका लागि आयुष यादवले २१ बलमा २८ रन बनाएका थिए भने सम्राट बिष्टले ४२ बलमा २८ बनाएका थिए भने सक्षम बुढाथोकीले १२ बलमा १० रन बनाएका थिए । बलिङतर्फ जनज्योति बोर्डिङका हार्दिक कडेलले ४ ओभर बलिङ गरेर २३ रन दिएर दुई विकेट लिएका थिए भने प्रज्वलले चार ओभर बलिङ गरेर नौ रन दिइ दुई विकेट लिएका थिए ।
दोस्रो इनिङमा १ सय ६१ रनको लक्ष्य लिएर आएको जनज्योति बोर्डिङ स्कुलले निर्धारित २० ओभरमा १ सय १९ रन मात्र बनाउन सफल भयो । जनज्योतिको लागि ब्याटिङतर्फ सजल विकले ३४ बलमा २७ रन विवेक यादवले १५ बलमा १८ रन र आलोक यादवले १५ बलमा १७ रन बनाएका थिए ।
जनज्योति स्कुललाई १ सय १९ रनमा रोक्ने क्रममा सनराइज बोर्डिङ स्कुलका निश्चल चौधरीले चार ओभरमा बाइस रन दिएर २ विकेट लिएका थिए भने विपिन चौधरीले १२ रन दिएर एक विकेट लिएका थिए । साथै भूपेन्द्र थापाले दुई रन दिएर एक विकेट लिन सफल भएका थिए । आइतबारको खेलमा सनराइजका तर्फबाट आकर्षण ४१ रन बनाएका आयुष यादव म्याद म्याच घोषित भएका थिए भने गेम चेन्ज अफ द म्याच सिमोन परियार भएका थिए ।
जिल्ला क्रिकेट संघ बर्दियाका पूर्व अध्यक्ष स्वर्गीय कृष्णप्रसाद बस्याल राकेशको स्मृतिमा स्कुल कप २०८२ क्रिकेट प्रतियोगिता आईतबार मंसिर २१ गते देखि सुरु भएको हो । जिल्ला क्रिकेट संघ बर्दियाको आयोजनामा यस प्रतियोगिता मङ्सिर २१ गते देखि मङ्सिर २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा बर्दिया जिल्ला भरिका १० वटा विद्यालयहरूले सहभागिता रहेको स्वर्गीय कृष्ण प्रसाद बस्याल कप क्रिकेट प्रतियोगिता आयोजकका संयोजक सिद्धार्थ श्रेष्ठले जानकारी दिए ।

उद्घाटन खेलमा जिल्ला क्रिकेट संघका संस्थापक अध्यक्ष युवराज श्रेष्ठ, गुलरिया नगरपालिका–४ का वडाध्यक्ष सुरेश गौतम, ५ का वडाध्यक्ष राजेन्द्र मल्ल, गुलरिया नगरपालिका –११ का वडाध्यक्ष विष्णु यादव साथै स्वर्गीय राकेश बस्यालकी श्रीमती निर्मला अधिकारी बस्याल लगायत बर्दिया क्रिकेटका पूर्व खेलाडीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
आज सोमबार जनता मावि बारबर्दिया र नेपाल राष्ट्रिय मावि बाँसगढी बिच बिहान ९ बजे खेल हुनेछ भने दोस्रो खेल शम्भुशरण मावि र महाकवि मावि बिच दिउँसो १ बजे हुने आयोजकलाई जानकारी दिएको छ ।

