धारामा धमिलो पानीले गुलरियाका उपभोक्ता मारमा
मङ्गलबार, मङि्सर २४, २०८२ मा प्रकाशित

खानेपानी उपभोक्ता समिति गुलरियाले दुषित खानेपानी आपुर्ति गरेको आरोप लगाउँदै उपभोक्ताले बेलाबेलामा सामाजिक सञ्जालमार्फत आलोचनासमेत गरेको पाइन्छ । सम्बन्धित निकायलाई पटकपटक समस्याको जानकारी गराउँदासमेत सुधार नभएको उपभोक्ताको गुनासो छ । धारामा खान योग्य पानी नआउँदा घरमा फिल्टर राख्न बाध्य भएको गुलरिया नगरपालिका–५ का एक उपभोक्ताले बताए । ‘लामो समयदेखि समाधान नहुँदा फिल्टर राखे,’ उनले भने,‘खानेपानी उपभोक्ता समिति गुलरियालाई मासिक न्यूनतम शुल्क १ सय २० रुपैयाँ बेकारमा तिरिरहेको छु ।’

तीन महिनादेखि लगातार धमिलो खानेपानी आइरहेको गुलरिया नगरपालिका–७ का एक उपभोक्ताले बताए । ‘खानेपानीको पानीमा बच्चाको सेतो ड्रेस धुँदा पहेँलो देखिन्छ,’ उनले भने,‘खानेपानीको पानी प्रयोग नगरे पनि फोकटमा मासिक न्यूनतम शुल्क बुझाउनु परेको छ ।’ बाटो निर्माणको क्रममा पाइप फुटेर गुलरिया बजार आसपासका कतिपय टोलका धारामा धमिलो पानी आउने समस्या देखिएको खानेपानी उपभोक्ता समिति गुलरियाका अध्यक्ष मीनराज शर्माले बताए । ‘हामीले फोहोर पानी दिएका होइनौं,’ उनले भने, ‘जसको घरको अगाडि पाइप फुटेको छ, त्यहाँ समस्या देखिएको हो, हाम्रा प्राविधिकले पाइप फुटेको ठाउँ पत्ता लगाउँदै मर्मत गरिरहेका छन् ।’

बाटो निर्माण गर्ने निकायले समन्वय नगरेर काम गर्दा पाइपमा क्षति भएको उनले बताए । धमिलो पानी आउने समस्या समाधान गर्न खानेपानी डिभिजन कार्यालयसँग पनि समन्वय गरिरहेको उनले बताए । स्रोत ईकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय