छानबिन टोली घटनास्थलमा, मृतकको मृत्यु दर्ता र बालिकाको जन्मदर्ता सम्पन्न
बिहिबार, मङि्सर २६, २०८२ मा प्रकाशित

काठमाडौं, मंसिर २५ / नागरिकता नपाएकै कारण बर्दियामा बाबु–छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित सरकारी टोलीले बुधबार देखि स्थलगत काम थालेको छ । गृह मन्त्रालयको छानबिन टोली ले घटनास्थलमै पुगेर पीडित परिवारको कानुनी समस्या हल गर्दै मृतकको मृत्यु दर्ता र बालिकाको जन्मदर्ता गराएको हो । समितिका सदस्य एवं गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्यालका अनुसार टोलीले बर्दियाको बढैयाताल –४ स्थित घटनास्थल र वडा कार्यालय पुगेर घटनाको यथार्थ विवरण बुझेको छ ।

सो क्रममा कागजी प्रक्रियाको अभाव नै मुख्य समस्या देखिएपछि तत्कालै दुईवटा महत्त्वपूर्ण दर्ता कार्य सम्पन्न गरिएको छ । उपसचिव अर्यालले भने,‘हामीले घटनास्थलमा पुगेर समग्र बस्तुस्थिति बुझ्दा मृतक अन्जुकी ७ वर्षीया छोरी अनिताको जन्मदर्ता र अन्जुका बुबा कान्छा थारुको मृत्यु दर्ता नभएको पाइयो । यो समस्यालाई तत्काल निराकरण गर्न बुधबारवडा कार्यालयमा पुगेर मृतक कान्छा थारुको मृत्यु दर्ता र बालिका अनिताको (बुबा अनिलको नामबाट) जन्मदर्ता सम्पन्न गरेका छौँ ।’

समिति संयोजक एवं गृह मन्त्रालयका सहसचिव सुरेश पन्थीको नेतृत्वमा पुगेको टोलीले स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूसँग सर्वपक्षीय छलफल समेत गरेको थियो । बाँकी समस्या र घटनाको विस्तृत कारणबारे अध्ययन गरी प्रतिवेदनमा खुलाइने सदस्य अर्यालले जानकारी दिए ।
के थियो घटना ? बर्दियाको बढैयाताल–४ दक्षिण भकारीकी २१ वर्षीया अञ्जु थारू र उनका बुबाले नागरिकता विहीनताका कारण सिर्जित पीडा र सरकारी सेवाबाट वञ्चित हुनुपरेको नैराश्यताका कारण ज्यान गुमाएका थिए ।

पतिबाट उपेक्षित अञ्जुको पक्षमा अदालतले अंश पाउने फैसला गरे पनि नागरिकता नहुँदा उनले अंश दाबी गर्न सकेकी थिइनन् । यही प्रताडनाका बिच भएको घटनापछि अञ्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी गरिएको छ । घटनाको गम्भीरतालाई मध्यनजर गर्दै गृह मन्त्रालयले गत मङ्सिर २१ गते सहसचिव सुरेश पन्थीको संयोजकत्वमा उपसचिव कुलशेखर अर्याल र बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारी सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
समितिलाई प्रतिवेदन बुझाउन पाँच दिनको समय दिइएको छ । घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले पनि छुट्टै अनुसन्धान गरिरहेको छ । नागरिकन्युजबाट

प्रतिक्रिया

सम्बन्धित खवर