सस्कृतिको सर्बमान्य परिभाषा अनुसार संस्कृति त्यो समग्र जटिलता हो जसमा समाजको सदस्यको रूपमा मानिसले सिकेर प्राप्त गर्ने ज्ञान, विश्वास, कला, नैतिकता, कानुन, परम्परा तथा अन्य सबै क्षमताहरू र बानीहरूको समग्र स्वरुप पर्दछ । सस्कृती भौतिक र अभौतिक दुई किसिमको हुन्छ । भाषा सस्कृतिको बाहक हो ।
संस्कृति कुनै पनि राष्ट्रको आत्मा हो । भाषा, भेषभूषा, परम्परा, चाडपर्व, प्रबिधि , कानून , लोककला, मूल्य/मान्यता र जीवनशैली मिलेर बनेको संस्कृतिले मानिसलाई आफ्नो इतिहास र पहिचानसँग जोडेर राख्छ । जब यी आधारहरू क्रमशः ओझेलमा पर्न थाल्छन्, तब राष्ट्रको सामूहिक चेतना कमजोर हुँदै जान्छ । संस्कृतिको क्षय भनेको केवल पुराना रीतिरिवाज हराउनु मात्र होइन, आफ्नोपन गुमाउनु पनि हो । सँस्कृतिक क्षयले राष्ट्रको आत्मा क्षीण गर्दछ । जसको प्रत्यक्ष असर राष्ट्रको राष्ट्रिय शक्ति, स्थायित्व र अस्तित्वमै पर्छ।सँस्कृति नष्ट हुँदै जाँदा राष्ट्र कमजोर बन्छ किनकि सँस्कृतिले नै नागरिकलाई साझा पहिचान, मूल्य र भावनात्मक एकतामा बाँध्ने काम गर्छ।
जब भाषा, मूल्य, इतिहासबोध र सामूहिक पहिचान कमजोर हुन्छन तब राष्ट्र केवल भूगोलमा मात्र सीमित हुन्छ आत्मा हराएको शरीरजस्तै। ऐतिहासिक तथ्यले के देखाउछन भने सस्कृती कमजोर हुँदै हराएर जादा ती राष्ट्रको सभ्यता र अस्तित्व पनि हराएर गएका छन ।
उदाहरणका लागि पश्चिमी रोमन साम्राज्य (ई.स. ४७६) को पतन संस्कृति कमजोर हुँदै जादा भएको हो । सुरुमा रोम साम्राज्य नागरिक कर्तव्य, अनुशासन र साझा पहिचानमा आधारित थियो तर समयसँगै विलासिता, भ्रष्टाचार र सामुहिक सास्कृतिक जिम्मेवारीहरु र सास्कृतिक मूल्यहरू कमजोर हुँदै गए ।इतिहासकार Edward Gibbon ले “The History of the Decline and Fall of the Roman Empire” भन्ने किताबमा यसलाई civic virtue को पतन भनेका छन्। जब राज्यले आफ्ना नागरिकबाट सेना तयार गर्न सकेन र भाडाका सैनिकमा निर्भर भयो तब सन् ४७६ मा Odoacer ले अन्तिम सम्राट Romulus Augustulus हटाउँदा ठूलो प्रतिरोध भएन। यसले के देखाउँछ भने संस्कृति कमजोर हुँदा राष्ट्रको अस्तित्व नै संकटमा पर्छ। रोम साम्राज्य मात्र होइन , माया सभ्यता , सिन्धु सभ्यता , अमेरिकन आदिबासी राष्ट्रहरु पनि सस्कृती कमजोर हुँदै जादा र त्यहाँका सास्कृतिक मान्यताहरुमाथि आक्रमण हुदैजादा पतन भएका हुन ।
सस्कृति माथिको आक्रमण सुनुयोजित हुन्छ । निकै लामो योजना साथ कुनै देशको सस्कृतिमाथि आक्रमण गरिन्छ । सांस्कृतिक आक्रमणले भाषा, धर्म, सामाजिक परम्परा र आर्थिक/राजनीतिक नियन्त्रणमार्फत समुदायको पहिचान कमजोर गर्दछ। अमेरिकी आदिवासीहरूलाई १८–१९ औँ शताब्दीमा residential schools मार्फत आफ्नै भाषा बोल्न र संस्कार अभ्यास गर्न रोकिएको थियो जसले उनीहरूको सांस्कृतिक आत्मा कमजोर बनायो । मध्य र दक्षिण अमेरिकामा स्पेनी उपनिवेशले माया र एज्टेक धर्मलाई ख्रीष्ट धर्मसँग प्रतिस्थापन गर्दा पुराना धार्मिक र सामाजिक अभ्यास हराए। अफ्रिकाका आदिवासीहरूमा सामूहिक भूमि अधिकार हटाइएर निजीकरण गरिएपछि परम्परागत सामाजिक संरचना कमजोर भयो। सोभियत संघमा गैर-रूसी भाषिक क्षेत्रको सांस्कृतिक अभ्यास सीमित गरी रूसी भाषा र मूल्य प्रवर्द्धन गरिएकोले स्थानीय पहिचान संकटमा परेको थियो। यसरी भाषा, धर्म, सामाजिक संरचना र प्रशासनिक दबाबको लगातार आक्रमणले समुदायको सांस्कृतिक पहिचान कमजोर बनाउँछ र राष्ट्र वा समुदायको अस्तित्वमाथि पनि प्रत्यक्ष असर पुर्याउँछ।
यद्यपि नेपालमा पश्चिमाहरुको प्रभाब नेपाल एकीकरण हुँदै गर्दा नै शुरु भएको हो । भारतमा इष्ट इण्डियाकम्पनीको प्रभाब , नेपाल-अङ्ग्रेज युद्द , सेना लगायत अन्य धेरै पक्षमा फ्रान्सेली मोडलको कार्यान्वयन र विशेषगरि सुगौली सन्धीले नेपाली सस्कृतीमा व्यापक प्रभाब पार्यो । राणा शासनकालमा पश्चिमा ब्रीटिस सस्कृतिको प्रभाब निकै नै पर्यो । मुख्य गरि बि.स. २००७ पछि नेपालमा पश्चिमाहरुको आवत/जावत र हस्तक्षेप बढी भयो र राष्ट्रिय संस्कृति – धर्म, चेतना, मनोविज्ञान, कला, साहित्य आदि सबैमा प्रभाब पार्यो । यसले यहाँको राजनीतिक, आर्थिक र मनोविज्ञानमा प्रभाब पार्न थाल्यो । २०४६ सालपछि त यसको प्रभाब झन तिब्र हुँदै गयो । २०६२/०६३ पछि त सास्कृतिक हमाला अझ तिब्र रुपम वृद्धि हुदै गएको छ ।
धार्मिक रुपबाट चर्चा गर्दा वि. सं. १५४८ (सन् १४९१) मा रत्न मल्लले काश्मिरका मुस्लिम व्यापारीलाई झिकाएर व्यापार गर्न लगाए । यिनीहरुले नै चुरा, पोते, टिकालगायत सामानको व्यापार सुरु गरे । रत्न मल्लकै पालादेखिका काठमाडौं, इन्द्रचोकका मुस्लिम ब्यापारीहरु देशभरी फैलिए । इन्द्रचोक राँकी बजारमा रहेका चुरौटेहरु इराकबाट काश्मिर आएका र लद्धाख हुँदै काठमाडौं पसेको बताइन्छ । यी व्यापारीले काठमाडौं, ल्हासा, पाटलीपुत्र व्यापारको सहजीकरण गरेका थिए । यिनीहरुले नै नेपालमा इस्लाम धर्म र संस्कृतिको प्रचार गरे । नेपालमा मुस्लिम संस्कृतिको प्रचार भयो । इन्द्रचोकबाट त्रिशुली, देवीघाट, गोरखातिर हुँदै नेपाल भर फैलिए ।
( अनिल सी )पृथ्वीनारायण शाह नेतृत्वको नेपाल एकीकरणभन्दा अगाडि नै मध्यकालीन नेपालमा बि .सं. १६८५ (सन् १६२८) मा आजभन्दा ३९७ वर्षपहिले सर्वप्रथम इसाई धर्म प्रचारका लागि युरोपबाट तिब्बत हुँदै नेपाल आउने इसाई जोवा केब्राल हुन । त्यस समय कान्तिपुरमा शिवसिंह मल्ल राजा थिए। वि.सं. १७७२ (सन् १७१५) मा फेरि त्यही तिब्बतको बाटो भएर केही इशाई धर्म प्रचारकहरु कान्तिपुरमा आएर लामै समयसम्म बसे र इसाई धर्मको बारेमा प्रचार गर्दै निःशुल्करूपमा बाइबल बाँडेको इतिहासमा पढ्न पाइन्छ। वि.सं. १७७५-१७२० सम्म प्लेग रोग फैलिएर महामारीको रूप लिएको थियो। त्यसै रोगबाट कैयौँ मानिसको ज्यान गइरहेको समयमा कान्तिपुरमा इसाई धर्म प्रचार गर्न बसेका इसाईहरुले बाइबललाई विश्वास गरेमा रोग निको हुन्छ भन्दै कैयौँ बिरामीलाई बाइबल निःशुल्क बाँडेर इसाई बनाएका थिए। यसकै निरन्तरता अहिले पनि चलिरहेको छ ।
पछिल्लो बर्तमान समयमा नेपालमा बाह्य राजनितिक हातक्षेप , आधुनिक जीवनशैली, अन्तरास्ट्रिय बसाइसराई , कथित आधुनिक शिक्षा प्रणाली र भुमण्डलिकरणले परम्परागत संस्कृति र पहिचानलाई चुनौती दिइरहेको छ । धेरै जातीय/भाषिक समूहका आफ्नै मातृभाषा र त्यससँग सम्बन्धित सांस्कृतिक ज्ञान हराउँदै गएको छ। अंग्रेजी शिक्षा बाध्यात्मक बनाइएको छ । धर्म र धार्मिक अभ्यासमा कानून बिपरित खुलेआम हस्तक्षेप छ । विभिन्न समुदायमा ईसाई धर्मको प्रचार-प्रसारले आफ्नो सास्कृतिक परम्परालाई कमज़ोर पारेको छ । शहरीकरण, रोजगारी र जीवनशैलीको परिवर्तनले गाउँमा सामूहिक जीवन र समुदायमा आधारित सामाजिक सम्बन्धहरू घटाएको छ । सास्कृतिक सस्था र सामुदायिकता कमजोर हुँदै गएको छ । यसरी भाषा, धर्म, सामाजिक संरचना र सामाजिक/सास्कृतिक/आर्थिक दबाबले नेपाली समुदायको सांस्कृतिक पहिचान क्रमशः कमजोर हुँदै गएको देखिन्छ। हाम्रो पुर्बिय सभ्यतालाई चिनाउने प्रयास नै छैन । हाम्रो शिक्षा प्रणालीसङ्ग हाम्रो सभ्यता र ज्ञानलाई जोड्ने प्रयास गरेको पनि देखिदैन ।
भास्कराचार्यलाई चिनाइदैन न्युटनलाई टुप्पी बाधेर रटाइन्छ । हाम्रो जीवन पद्धति , हाम्रो अभ्यास , हाम्रा रितिरिवाज सबै पूर्वीय सभ्यतामा आधारित छन । तर यस सम्बन्धि कुनै किसिमको शिक्षा हाम्रो शिक्षा पद्दतिमै छैन । हाम्रो सभ्यताको वास्तविक ज्ञान सस्कृत भाषामा छ । ग्रन्थ त्यही भाषामा छन तर दुर्भाग्य यसलाई नामेट पारिदै छ । खास आफ्नो जीवन पद्धतिको आधार नै नबुझाउने शिक्षा पद्धतिले कस्तो समाज निर्माण गर्ला !?
यसरी लामो ऐतिहासिक अभ्यासबाटै हाम्रो नेपाली समाजलाई प्यारालाइज्ड बनाइदैछ । आधारभुत विद्यालय तहमा अनिबार्य सस्कृत पाठ्यक्रम तेसै समाप्त गरिएको होइन ।कृयापुत्रीहरुलाई लखेट्ने त्यो अथित अभियान द्वन्द्व कालमा तेसै चलाइएको होइन । मन्दिरहरुमा भैसीका आन्द्रालगेर तेसै झुण्ड्याइदिएका होइनन । गम्भीर र दीर्घकालीन षडयन्त्र थियो यसमा । बहुसास्कृतिक हाम्रो समाजलाई तेसै आपसमा भिडाइएको होइन । हामी जुनसुकै सास्कृतिक मान्यताका किन नहौ हाम्रो जीवन पद्धति र पहिचानको आधार पुर्बिय सभ्यता नै हो । तर यसैलाई ध्वस्त पार्न खोजिदैछ । याद गर्नु पर्ने कुरा के हो भने कुनै पनि समाजलाई नियन्त्रण गर्न अब बन्दुक पड्काउनु पर्दैन उसको सस्कृती खाइदिए पुग्छ । साम्राज्यबादको रुपमात्र फेरिएको हो । यसलाई अझ गहन तरिकाबाट बिस्तार गरिदैछ ।
पुर्बिय सभ्यताका गणितज्ञ तथा खगोलशास्त्री भास्कराचार्य (भास्कर II) ले गुरुत्व आकर्षण (gravity) सम्बन्धी आफ्नो दृष्टिकोण १२ औ शताब्दीमै व्यक्त गरेका थिए । “पृथ्वीले वस्तुलाई तान्छ, त्यसैले वस्तुहरू तल झर्छन्” भनेर उल्लेख गरेका थिए । Isaac Newton ले भन्दा करिब ५०० वर्षअघि नै उनले यो उल्लेख गरेका थिए । तर दुर्भाग्य ! हामीलाई न्युटन थाहा छ भास्कराचार्य थाह छैन । यो त एउटा उदाहरण मात्र हो । हाम्रा सबै मान्यताहरु तथ्यमा आधारित छन । बैज्ञानिक छन । तर हाम्रा सबै मान्यताहरुलाई जबर्जस्त रुपमा रुढीबादी परम्पराहरु भनेर अपब्याख्या गर्ने अभियान चलाइएको छ । हाम्रै ज्ञानलाई अङ्ग्रेजी लेप लगाएर आफ्नो दर्शन र ज्ञानको रुपमा उल्टै हामीलाई सिकाउने INGO सस्कृति भित्र्याइएको छ । र , नियोजित रुपबाट हाम्रो सस्कृतिमाथि आक्रमण गरिएको छ । यसले हाम्रो सभ्यता र अस्तित्व माथि नै चुनौती थपेको छ ।

