मन्त्री घिसिङले गरे जब्दीघाट भत्केको पुलको अनुगमन
शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित

बर्दिया, पौष ४ / गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट स्थित भत्केको पुलको ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले अनुगमन गरेका छन् । मन्त्री घिसिङले बिहीबार बिहान जब्दीघाट स्थित उद्घाटन नहुँदै भत्केको पुलको अनुगमन गरेका हुन् । भत्केको पुलको अनुगमन गर्दै अब नयाँ पुल बन्ने आश्वासन दिएर मन्त्री घिसिङ फर्किएका छन् । यद्यपि यसअघि धेरै मन्त्रीले उक्त पुल बनाउने आश्वासन दिएका थिए । तर, हालसम्म भत्केको पुल बनेको छैन ।

‘भत्किएको पुलको सम्बन्धमा अदालत, अख्तियारलगायत धेरै ठाउँमा मुद्दा परेको छ, छानबिनको क्रममा भएकोले ढिलो हुन्छ, जसले गर्दा नयाँ पुल बनाउने हिसावले प्रस्ताव भइसकेको छ र स्वीकृतीको लागि अर्थ मन्त्रालयमा पठाइसकेका छौं,’मन्त्री घिसिङले भने,‘चाँडै अर्थ मन्त्रालयबाट सहमति लिएर नयाँ पुलको लागि तत्काल टेन्डर गराउने काम सुरु हुन्छ ।’

२०७४ साल साउन २८ गते बबई नदीमा आएको बाढीले गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल भासिएको थियो । २०७९ साल असोज २० गतेको बाढीले भासिएको स्पान बगाउँदा आवागमन बन्द भएको थियो । पुल पुनर्निर्माण नहुँदा बारबर्दियाका सर्वसाधारण सदरमुकाम गुलरिया आउन पैसा तिरेर डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । उक्त पुल कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको थियो । मन्त्री घिसिङले बिहीबार बिहान गुलरिया नगरपालिका–१ स्थित निर्माणाधीन नहर, बूढी खोलाको तटबन्धसमेत अनुगमन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय