बस्ती नजिकै उखुबारीमा बच्चा हुर्काउँदै चितुवा
शुक्रबार, पुष ११, २०८२ मा प्रकाशित

बर्दिया, पौष ११ / गुलरिया नगरपालिका–८ सर्जुनदी टपरास्थित उखुबारी मा बच्चासहितको चितुवाले बासस्थान बनाएको छ । अघिल्लो साता उखुबारीमा घाँस काट्न गएको बेला दुई बच्चासहितको चितुवा देखेको स्थानीयले बताएका छन् । यस क्षेत्रमा लागतार चितुवा आक्रमणका घटना हुन थालेपछि स्थानीय त्रसित बनेका छन् ।

दिनहुँ पशुचौपायालाई शिकार बनाउँदै आएको चितुवाले बालबच्चालाई आक्रमण गर्न सक्ने जोखिम बढेको गुलरिया नगरपालिका–८ का इन्जात अलि मनिहारले बताए । ‘बस्ती वरिपरी देखिने चितुवाको त्रासले बाहिर निस्कनसमेत डर लाग्छ,’ उनले भने, ‘बालबच्चा लाई कसरी जोगाउने मुस्किल भइसकेको छ ।’

पुस ५ गते साढे ३ बजेको समयमा बाख्रा चराइरहेको बेला उखुबारीबाट निस्केको चितुवाले आँखै अगाडिबाट सब्बिर धोबीको बाख्रा लगेको गुलरिया नगरपालिका–७ का अब्दुल समद धोबीले बताए ।

यस्तै पुस ७ गते राति गुलरिया नगरपालिका–८ सर्जुनदी टपराका सलिम खानको घरमा बाँधेको बाख्रा चितुवाले लगेको छ । केही महिनादेखि गुलरिया नगरपालिका–८ भन्सार टोल, आशापुर, सुरजपुर र वडा ७ गुलरिया गाउँमा कुकुर, बाख्रा र पशुचौपायालाई चितुवाले शिकार बनाउँदै आएको छ ।

बारबर्दिया क्षेत्रमा चितुवा आक्रमणको त्रास, महिनायता तीन जनाको मृत्यु

बारबर्दिया नगरपालिका–१० बैदीकी ५० वर्षीया पार्वती डाँगीको बुधबार दिउँसो चितुवाको आक्रमणबाट ज्यान गयो । घरनजिकै रहेको फेनापति सामुदायिक वनमा घाँस काटिरहेकी उनलाई चितुवाले घाँटीमा आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको हो । पुस २ गते गाउँकै सिम्रवा सामुदायिक वनमा बेगारी गर्न गएका बारबर्दिया–१० डफैयाका ३२ वर्षीय दिनेश थारुको वनमा शौच गर्न गएका बेला चितुवाले आक्रमण गर्यो । छाती, गर्धन र बायाँ खुट्टाको तिघ्रा खाइसकेको अवस्थामा थारुको शव फेला परेको थियो ।

गत मंसिर १२ गते काला बेलभार सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाको आक्रमणमा परी बारबर्दिया–११ की ५९ वर्षीय गोपी थारुको ज्यान गएको थियो । मंसिर १६ गते घरनजिकै राखेको पराल लिन गएको बेला चितुवाले आक्रमण गर्दा बारबर्दिया–४ की १८ वर्षीया अजिता थारु घाइते भएकी थिइन् । एक महिना अवधिमा चितुवाको आक्रमणमा तीन जनाको मृत्यु भएपछि बारबर्दिया नगरपालिका का र आसपासका बासिन्दा त्रसित बनेका छन् ।

लामो समयदेखि चितुवाले निरन्तर आत्रमण गर्दासमेत सरोकारवाला निकाय मौन रहेको बारबर्दिया नगरपालिका–१० डफैयाका तिल्कु चौधरीले बताए । ‘मान्छेहरु चितुवाको त्रासले घरबाहिर निस्कनसमेत डराइरहेका छन्,’ उनले भने,‘सम्बन्धित निकायले नियन्त्रणमा खासै चासो नदेखाउँदा दिनहुँ मानवीय क्षति व्यहोर्नु परिरहेको छ ।’

गएको साउन ३० गते खेतमा धान गोडिरहेका बेला गुलरिया नगरपालिका–१२ भैंसाहीकी ४५ वर्षीया जगतरानी थारुलाई चितुवाले लगेको थियो । साउन ३१ गते थारुको शव उखुबारीमा फेला परेको थियो । यस्तै भदौ २९ गते केतुवाई सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाको आक्रमणमा गुलरिया–१२ की २७ वर्षीया कविता रानाको मृत्यु भएको थियो ।

जिल्लामा पाँच वर्षयता वनको कार्यक्षेक्रमा चितुवाको आक्रमणबाट मात्र ११ जनाको ज्यान गइसकेको डिभिजन वन कार्यालयको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष ०७८/०७९ मा चितुवाको आक्रमणबाट २ जनाको मृत्यु र २ घाइते, आर्थिक वर्ष ०८१/०८२ मा ४
को मृत्यु, १३ घाइते र चालु आर्थिक वर्ष ०८२/०८३ मा गुलरियाका २ महिला, बारबर्दियाका २ महिला र १ पुरुष गरी ५ जनाको मृत्यु र ७ जना घाइते भएको डिभिजन वन कार्यालयको तथ्यांक छ ।

चितुवाको आक्रमणबाट बच्न सर्वसाधारणमा सचेतना फैलाउने र समस्याग्रस्त चितुवा नियन्त्रण लिने प्रयास गरिरहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवबहादुर केसीले बताए । ‘बारबर्दियामा पुस २ गते चितुवाले आक्रमण गरेपछि आसपास ४ वटा केज निरन्तर थापीरहेका छौं,’ उनले भने,‘केज वरिपरी चितुवा घुमेको जडान गरेको क्यामरामा देखिन्छ । तर केजमा पसेको छैन ।’

बसेर घाँस काट्दा वा काम गरिरहेको बेला आहारा प्रजाति सम्झेर चितुवाले मान्छेलाई आक्रमण गर्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्वाहाम्फेले बताए । ‘बच्चासहितको चितुवा मात्र नभई अन्य वन्यजन्तु आक्रामक नै हुन्छन्, बिरामी चितुवा सजिलो आहाराको लागि बस्ती पस्ने गरेको पाइन्छ,’ उनले भने, ‘चितुवाको आक्रमण बढिरहेको क्षेत्रमा वन्यजन्तुको आनीबानीको बारेमा सर्वसाधारणलाई जानकारी गराउन आवश्यक देखिएको छ ।’ईकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय