‘कमैया महिलाको कार्यक्रम सन्तोषजनक’
सोमबार, पुष १४, २०८२ मा प्रकाशित

बर्दिया,पौष १४(फरकसमाचार) /कमैया महिला जागरण समाजद्वारा संचालित कार्यक्रमबाट लाभग्राही समुदाय सन्तोषजनक रहेको पाईएको छ । कमैया महिला जागरण समाज नेपालद्वारा आइतबार आयोजित वार्षिक सामाजिक परीक्षण कार्यक्रममा लाभग्राहीले संस्थाको कार्यक्रम सन्तोषजनक रहेको बताउँदै प्रशंसा गरेका हुन् । बाख्रा, तरकारी खेती र सिपमुलक तालिम दिई आवश्यक सहयोग गरेर बेरोजगार कमैया महिलालाई आत्मनिर्भर बनाएकोमा कार्यक्रम सन्तोषजनक रहेको सहभागी सरोकारवालाले धारणासमेत व्यक्त गरेका छन् ।

संस्थाको कार्यक्रमले धेरै कुरा सिकाएर कमैया महिलाहरु अघि बढ्ने अवसर पाएको बाँसगढी नगरपालिका–९ बसन्ताकी अस्तुर्नी थारुले बताईन् । ‘हामी कमैया महिलाहरुलाई संस्थाको कार्यक्रमबाट धेरै कुरा सिकेर आजभोली आफ्नो हक अधिकारको बारेमा थाहा पाएर स्थानीय सरकारले हाम्रो लागि के गरिरहेकोमा चासो राख्ने गरेका छौं’उनले भनिन्,‘यस्तै संस्थाले बस्ती स्तरका कमैया महिलालाई जिविकोपार्जन कार्यक्रमबाट माथि उकास्न मद्दत पु¥याएको छ ।’ संस्थाले दिएको सिलाई कटाई तालिमबाट आत्मनिर्भर बनेको उनले सुनाईन् ।

कमैया महिला जागरण समाज नेपालद्वारा संचालित कार्यक्रमले कृषिमा सहयोग गरेर आत्मनिर्भर बनाएको गुलरिया नगरपालिका–९ टेपरीकी बिना कुमारी चौधरीले बताईन् । ‘च्याउ, तरकारी खेती, बाख्रा र गोठ सुधारमा सहयोग पाएका छौं,’उनले भनिन्,‘च्याउ खेती दुई वर्षदेखि राम्रो आम्दानी गरिरहेको छु ।’

वार्षिक सामाजिक परीक्षण कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरे, गुलरिया नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत मुकुन्द अर्याल, बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी र नागरिक समाजका प्रतिनिधिलगायत सरोकारवालाले कमैया महिला जागरणले समुदायमा गरेको काम सन्तोषजनक रहेको धारणा व्यक्त गरेका थिए ।

संस्थाले एक वर्षमा गरेको काम लाभग्राही र सरोकारवाला समक्ष राख्दा पारदर्शी हुने भएकोले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि सामाजिक परीक्षण कार्यक्रम आयोजना गरिएको कमैया महिला जागरण समाज नेपालका कार्यक्रम संयोजक रमेश कुमार चौधरीले बताए ।

राज्यको नीति अनुसार अनुमति दिईएको क्षेत्रमा सहयोगी हातको रुपमा संस्थाहरुले सरकारलाई सघाँउने गरेको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए ।

‘सामाजिक परीक्षणमा धेरै राम्रा सल्लाह सुझाव आएको छ,’कमैया महिला जागरण समाज नेपालकी अध्यक्ष कृष्णी थारुले भनिन्,‘सल्लाह सुझावले आगामी वर्षको कार्यक्रम अझै राम्रो बनाउन सकिने विश्वास छ ।’

यस वर्ष कमैया महिला जागरण नेपालद्वारा चार वटा परियोजना संचालित भएको जनाईएको छ । एक्शनएड नेपालको साँझेदारी र पालिकाहरुको समन्वयमा कमैया महिला जागरण समाजद्वारा गुलरिया, बारबर्दिया, राजापुर, बाँसगढी नगरपालिका, बढैयाताल र गेरुवा गाउँपालिकामा कार्यक्रम संचालन भईरहेको जनाईएको छ । संस्थाको चार वटै परियोजनाको अध्ययन गरी वार्षिक सामाजिक परीक्षणको सहजीकरण लक्ष्मण ढुङगानाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय