हुन त को कति खुसी छ अरुले भनिदिन वा भन्न सक्ने कुरा होइन । कोहि ईच्च दात देखाएर हासिदियो भन्दैमा ऊ खुसी छ भन्ने मापदण्ड कहाँ हुन्छ र ? उ स्वयमले के अनुभुति गरेको छ भन्ने कुरा नै प्रमुख हो । अरु सबै अनुमानकै बिषय हुन ।
हो, को कति धनी छ भन्नेकुरा चाहिँ सायद भन्न सकिन्छ । किनकी यसका मापन योग्य सुचकहरु छन । बिश्वमा को कति धनी छ भन्ने कुराको त सुचि नै जारी गरिन्छन । बिलिनियर , मिलिनियर , पहिलो , दोश्रो क्रमशः । सायद जीवन पद्धतिबाट अनुमान गर्न सकिन्छ/भन्न सकिन्छ । धनी हुनुले क्वालिटी अफ लाइफ निर्धारण गर्दछ भनिन्छ तर क्वालिटी अफ लाईफ केलाई भन्ने हो ? स्पष्ट चाहिँ छैन । आ-आफ्नै मान्यताहरु छन ।
एउटा अन्तरबार्तामा बिनोद चौधरी भन्दै थिए, म बिलिनियर हुने रेसमा छैन । बिलिनियरका आफ्नै जेट हुन्छन , बिश्वका प्रसिद्द शहरमा बस्दछन । आफ्नै क्वालिटी अफ लाइफ हुन्छन । तर म त्यो लाइनमा छैन । म त पछाडि फर्के । गाउँ पसे । तेस्तो घरमा बसे जुन घरमा एट्याच्ड टोइलेट पनि छैन तर मलाई यसमा धेरै आनन्द र खुसी महसुस हुन्छ । म मानिसको बिचमा छु । मानिस आउछन , अन्तरकृया हुन्छन । आनन्द लाग्छ । म साथीहरुका प्राइभेट जेट पनि चढेको छु तर मलाई ती जेट चढ्नु भन्दा कम आनन्द बुद्ध एयर चढ्दा आउदैन । उनले आफैलाई ढाटेको भए त थाहा भएन यदि नढाटेको भए उनका यी भनाइले धेरै कुरा प्रस्तुत गर्दछन । उनी भन्छन पैसा साध्य हुन सक्दैन । हुनत फेरि कतिपयले भन्छन , यो भन्ने हुन पनि पैसा कमाउनु पर्दछ । तर उनको भनाइको सार मलाई के लाग्छ भने आनन्द र खुसी पैसाले दिन सक्दैन ।
भारतीय बिलिनियर रतन टाटा जसको मृत्यु Oct ९ , २०२४ मा भयो उनको सम्पुर्ण जीवन पद्धतिले त्यही देखाउछ । उनी भन्थे सामाजिक काममा भन्दा बढी आनन्द सन्सारमा अन्त कहि छैन ।
शिवपुरी बाबा भन्नुहुन्थ्यो “कि बकिङ्गम रोयल प्यालेस र रानी भिक्टोरियाको मेजमानी कि त बुढानिलकण्ठ मास्तिर शिबपुरिको घनघोर बिशाल अनकन्टार जङ्गल । यी बाहेक अन्त कतै बस्नु बेकार । उहाले बकिङ्गम दरबार भन्दा बढी आनन्द शिवपुरी जङ्गल/डाडोमै मान्नुभयो ।
सन्सारकै धनी ब्यक्ति एलन मस्ककि श्रीमती जस्टिन वील्सनले सन २००८ मा मस्कसङ्ग सम्बन्धविच्छेद गरेकी थिइन् । उनकी ट्रान्सजेन्डर छाेरी जेभियर अलेक्जेन्डर मस्कले आफ्नाे नाम फेर्न अदालतमा निवेदन समेत दिइन । जसमा उनले आफू पितासँग बस्न नचाहेको उल्लेख गरेकी छन् । साथै, कुनै पनि तरिकाले अब एलनसँग सम्बन्धित हुन नचाहने उल्लेख गरेकी छन् अर्थात बाबुसङ्ग उनी कुनै पनि बहानामा जोडिन चाहिनन ।
एउटा सन्सारकै धनी मानिससङ्ग उसकी छोरी बस्न चाहान्न यतिसम्म कि नाम समेत जोड्न चाहान्न । पिडा त पक्कै होला एलन मस्क साहेबलाई । खुसी दिने पैसोले होइन रहेछ ।
एउटा नेपाली जति धनी किन नहोस ; एकै दिन बिहान नेपालगन्जमा ब्रेकफास्ट , काठमाण्डुमा लन्च र थाइल्यान्डमा डिनर गर्ने हैसियत नै किन नराखोस ; थाइ एयरपोर्टमा उसको पासपोर्ट बिश्वमै कमजोर पासपोर्ट हुने देशकै हैसियतमा आउँछ । जतिसुकै उत्कृष्ट प्रीजेन्टेसन राम्रो अङ्ग्रेजी भाषामा अन्तरास्ट्रिय मंचमा टाइशुट लगाएरै उसले किन नगरोस उ गरिब देशको एउटा बबुरो नै मानिन्छ । देश धनी हुनु र मानिस गरिब हुनुमा जति इज्जत छ तेत्ती नै देश गरिब हुनु र मानिस धनी हुनुमा बेइज्जत छ । धनको उन्मादमा उम्लिएकाहरुले यो कुराचाही बुझ्नु पर्दछ ।
अर्थशास्त्री रिचार्ड ए. इस्टरलिनले सन् १९७४ मा प्रस्तुत गरेको Easterlin Paradox को निष्कर्षमा संयुक्त राज्य अमेरिका तथा अन्य औद्योगिक राष्ट्रहरूको दीर्घकालीन तथ्याङ्कको विश्लेषण गर्दा के देखिएको छ भने व्यक्तिको आयस्तर बढेसँगै तत्कालीन भौतिक स्वरुपको जीवन सन्तुष्टिमा केही वृद्धि देखिए पनि दशकौँसम्म प्रतिव्यक्ति आय निरन्तर बढ्दा पनि समग्र खुसीको स्तर उल्लेखनीय रूपमा बढेको देखिदैन । यसले आर्थिक सम्पनता र दीर्घकालीन खुसीबीच प्रत्यक्ष र समानुपातिक सम्बन्ध नहुने स्पष्ट गर्छ।
World Happiness Report ले खुसीका प्रमुख निर्धारक तत्वहरूका रूपमा आयसँगै सामाजिक समर्थन, शारीरिक तथा मानसिक स्वास्थ्य, स्वतन्त्रता, सुशासन र आपसी विश्वासलाई महत्वपूर्ण मानेको छ। हालका दिनहरुमा फिनल्यान्ड, डेनमार्क र नर्वे जस्ता देशहरूले निरन्तर रूपमा उच्च खुसी सूचकाङ्क प्राप्त गरिरहेका छन् यसको प्रमुख कारण उच्च आय मात्र ( धनी हुनु मात्र ) नभई समग्र देशको सुदृढ सामाजिक सुरक्षा प्रणाली र सामाजिक समानता हुन ।
केही अध्ययनहरूले income inequality र wellbeing बीचको सम्बन्ध पनि विश्लेषण गरेका छन् । ती अध्ययन हरुले विशेषगरी उच्च आय भएका देशहरूमा आय असमानता बढ्दा आय/खुशीको सम्बन्ध अझ कमजोर बन्ने गरेको देखाएका छन । यसले पनि स्पष्ट पार्दछ कि सामाजिक/सास्कृतिक संरचनाहरूले मानिसको सन्तुष्टिमा ठूलो भूमिका खेल्छन्।
वैज्ञानिक र व्यापक तथ्यांक विश्लेषणका आधारमा के स्पष्ट हुन्छ भने धनी हुनु र खुसी हुनु समान कुरा होइनन् । धनले केही सहजता र सुविधा दिन सक्छ तर वास्तविक जीवन सन्तुष्टिलाई निर्धारण गर्ने धेरै महत्वपूर्ण कारण हरुमा सामाजिक, राननितिक , मनोवैज्ञानिक र संरचनागत कारकहरू पर्छन जसलाई पैसाले मात्र प्रभावकारी रूपमा समाधान गर्न सक्दैन।

