अभिनव कुमार पाठक
बर्दिया, पौष २१ /ह्वात्तै बढेको ठन्डीले जनजीवन कष्टकर बन्दै गएको छ । केही दिन यता घाम ननिस्कदाँ अत्याधिक ठन्डी महसुुस भईरहेको छ । अत्याधिक ठन्डीले सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितीमा कमी आएको छ । यस्तै दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारका व्यक्तिहरु काममा जान समस्या भईरहेको छ । चिसो हावाको सिरेटोले सर्वसाधारणलाई थुरथुर काम्न बाध्य बनाएको छ ।
ठन्डी कम हुँदा सर्वसाधारण मोरनिङ्ग वाकको लागि बिहान ५ बजे बाहिर निस्कने गर्थे । तर,अत्याधिक चिसोले मोरनिङ्ग वाकमा निस्कनेको संख्यामा कमी आएको देखिन्छ । ठन्डी बढेसंगै गुलरिया बजारमा बिहानै देखिने चहल पहलमा कमि आएको छ । यस्तै बिहानै पसल खुल्थे र किन मेलका लागि सर्वसाधारणको बजारमा चहल पहल देखिन्थ्यो । ह्वात्तै बढेको ठन्डीले बजारमा उपभोक्ताहरुको चहल पहलमा कमी आएको व्यवसायीहरुले बताउँछन् ।
एक्कासी बढेको ठन्डीले बजारमा सर्वसाधारणको चहल पहलमा कमी आएको एक व्यवसायीले बताए । ‘यस्तो जाडो छ, दिनभरि पसलमा कुर्दासमेत किन्ने ग्राहक आउँदैनन्,’उनले भने,‘पसल खोले पनि आगो ताप्ने काम मात्र भईरहेको छ ।’
बिहान देखि बाक्लो हुस्सु लाग्नुका कारण गाडी मोटर दुर्घटनामा पर्ने जोखिम पनि बढेको छ । बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरुलाई अत्यधिक चिसोमा अनावश्यक रुपमा बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयले विज्ञप्ती मार्फत अनुरोध गरेको छ । यस्तै न्युनतम तापक्रमका कारण जिल्लामा आगामी चार÷पाँच दिन चिसो बढ्न सक्ने जिल्ला प्रशासन कार्यालयले फेसबुक पेजमार्फत जनाएको छ ।

