बर्दियामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
शुक्रबार, माघ ०३, २०८२ मा प्रकाशित

बर्दिया,माघ २(फरकसमाचार) / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि गुलरियामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । गुलरिया नगरपालिका–४ स्थित जिल्ला समन्वय समितिको कार्यालय स्थित शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले शुक्रबार औपचारिक रुपमा मुख्य निर्वाचनको कार्यालय उद्घाटन गरेका छन् ।

निर्वाचन क्षेत्र नं. १ को लागि गुलरिया स्थित मुख्य निर्वाचनको कार्यालय स्थापना गरिएको छ भने निर्वाचन क्षेत्र नं. २ को लागि राजापुर स्थित भन्सार कार्यालयमा आज दिउसो ३ बजे निर्वाचन कार्यालय स्थापना गरिने मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले बताए । ‘निर्वाचनको लागि पहिलो चरणको तयारी लगभग भईसकेको छ, अब मतदान शिक्षाको लागि मतदाता समक्ष जाने, मतदान स्थल र केन्द्रको निरीक्षण गर्ने योजना छ,’मुख्य निर्वाचन अधिकृत श्रेष्ठले भने,‘आगामी निर्वाचनलाई निष्पक्ष, शान्तिपुर्ण, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न माघ ६ गते देखि मनोनय दर्ता गरिने छ ।’

आगामी निर्वाचनका लागि जिल्लामा १ लाख ६३ हजार ८ सय ७३ महिला, १ लाख ५९ हजार ३ सय ८७ पुरुष र अन्य ६ जना गरि जम्मा ३ लाख २३ हजार २ सय ६६ मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लाल बहादुर मल्लले बताए । ‘१ सय ५४ मतदान स्थलमा ३ सय ८७ मतदान केन्द्र रहेका छन्,’उनले भने,‘अघिल्लो निर्वाचन भन्दा ११ वटा मतदान केन्द्र थपिएका छन् ।’

आगामी निर्वाचन सफल बनाउन सम्पुर्ण सरोकारवालाले सहयोग गर्नेमा विश्वस्त रहेको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले धारणा राखे ।

एउटा निर्वाचन कार्यालयमा मुख्य निर्वाचन अधिकृत,सहायक अधिकृत,कम्प्युटर अप्रेटर र सहयोगीहरुसहित ९ जना जनशक्ति रहेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर