निर्वाचन नजिकिँदै, मतदाता अन्योलमै : बर्दिया–१
बुधबार, माघ ०८, २०८२ मा प्रकाशित

निर्वाचन नजिकिँदै जाँदा धेरै ठाउँमा चहलपहल बढ्छ, चोक–चोकमा भाषणका आवाज गुञ्जिन्छन्, झण्डा र पोस्टरले गाउँ–शहर रंगिन्छन् । तर बर्दिया निर्वाचन क्षेत्र–१ मा त्यो दृश्यभन्दा गहिरो एउटा मौन देखिन्छ । यो मौन उदासीनताको मात्र होइन, सोचको, प्रश्नको र दुविधाको मौन हो । यहाँका मतदाता आज उत्साहितभन्दा बढी गम्भीर देखिन्छन्, नारामा बहकिएका भन्दा बढी हिसाब–किताब गरिरहेका छन्। भोट कसलाई दिने भन्ने प्रश्न सरल छैन, किनकि विगतले सजिलै भरोसा गर्न सिकाएको छैन ।

म बर्दियाका धेरै गाउँ–बस्ती हुँदै हिंड्दा एउटै प्रश्न सुन्छु “अब चाहिँ कसलाई दिने ?” यो प्रश्न केवल चिया पसलमा मात्र होइन, घरको आँगनमा, खेतको डिलमा, बासको चौतारीमा र मोबाइलको स्क्रिनमा पनि घुमिरहेको छ । पहिले यो प्रश्न सायद नेताले सोध्थे—“मलाई भोट दिनुहुन्छ ?” आज यो प्रश्न जनताले आफैंलाई सोधिरहेका छन् “म कसलाई भोट दिऊँ ?” बर्दिया–१ को राजनीतिक स्मृति लामो छ । यहाँ आन्दोलनको इतिहास छ, परिवर्तनको सपना छ, र त्यत्तिकै निराशाको कथा पनि छ । हिजो जुन नेताका भाषणले मानिसको आँखा रसाउँथ्यो, आज तिनै नेताका नामले धेरैलाई चुप बनाउँछ । किनकि अनुभवले सिकाएको छ भाषण र व्यवहारबीचको दूरी धेरै लामो हुन्छ । चुनावको बेला गाउँ छिर्ने नेताहरू जितेपछि राजधानीमै हराउने गरेको स्मृति अझै ताजा छ ।

यहाँका मतदाताले धेरै प्रयोग गरिसके। कसैलाई स्थिरताका लागि भोट दिए, कसैलाई परिवर्तनका लागि कसैलाई विचारका नाममा, कसैलाई डरका नाममा तर परिणाम प्रायः उस्तै रह्यो । सडक आधा बने, नहर अधुरा रहे, बाढी आयो भने क्षतिपूर्तिको सूचीमा नामलेखाउन धौ–धौ प¥यो । युवाले पढे, तर जागिर पाएनन्। धेरैले राहदानी बनाए, देश छोडे यही यथार्थले आज मतदाता लाई भावनाभन्दा विवेकतर्फ धकेलेको छ, र विवेकले सधैं सजिलो निर्णय दिँदैन । आज बर्दिया–१ का मतदाता पहिलेभन्दा धेरै सचेत छन् । उनीहरू अब ‘हाम्रो मान्छे’ भन्ने शब्दले मात्रै सन्तुष्ट हुँदैनन् । ‘हाम्रो मान्छेले के ग¥यो ?’ भन्ने प्रश्न उनीहरूका आँखामा देखिन्छ । तर जब यो प्रश्नको उत्तर खोजिन्छ, धेरैजसो ठाउँमा मौनता भेटिन्छ । यही मौनताले अन्योल जन्माउँछ ।

राजनीतिक दलहरू आज पनि आत्मविश्वासका साथ मैदानमा छन् । उनीहरूलाई लाग्छ, झण्डा र संगठनले जिताइदिन्छ । तर मतदाताको
मनभित्रको कथा फरक छ । दलप्रतिको विश्वास कमजोर भएको छ, तर विकल्प स्पष्ट छैन । दल छोडेर व्यक्ति हेर्दा पनि व्यक्ति पूर्ण रूपमा विश्वसनीय लाग्दैन । स्वतन्त्र र नयाँ अनुहारप्रति कौतुहलता छ, तर उनीहरूले प्रणालीसँग जुध्ने क्षमता राख्छन् कि राख्दैनन् भन्ने शंका पनि छ । यसैले मतदाता बीचमै अड्किएका छन् पुरानाले थकाए, नयाँले अझै ढुक्क बनायो छैन । बर्दिया–१ को अर्को गहिरो कथा युवाको हो । यहाँका युवा राजनीतिमा चासो राख्छन्, बहस गर्छन्, सामाजिक सञ्जाल मा सक्रिय छन् । तर मतदानको कुरा आउँदा धेरैको स्वर फिका सुनिन्छ । कारण स्पष्ट छ उनीहरूले राजनीति लाई आफ्नो भविष्यसँग जोड्न सकेका छैनन् ।

पढाइ सकेर विदेश जानु बाध्यता बनेको छ। यस्तो अवस्थामा उनीहरू सोच्छन्—“हामी भोट दिएर बस्ने, नेता जितेर राजधानी जाने, अनि हामी फेरि वैदेशिक रोजगारीको लाइनमा उभिने ?” यो प्रश्नको जवाफ कसैसँग छैन । यो अन्योललाई केवल नकारात्मक रूपमा हेर्नु गलत हुनेछ । यो अन्योल नागरिक चेतनाको संकेत पनि हो । जब जनता प्रश्न गर्छन्, तब लोकतन्त्र जीवित हुन्छ। समस्या त्यतिबेला हुन्छ, जब प्रश्नको उत्तर नआउँदा मानिस निराश भएर मौन बन्छ । बर्दिया–१ आज यही दोसाँधमा उभिएको छ—प्रश्न गर्ने चेतना त छ, तर विश्वास गर्ने आधार कमजोर छ । निर्वाचन नजिकिँदै जाँदा दलहरू आ–आफ्नो शक्ति प्रदर्शनमा व्यस्त छन् । तर मतदाताको मन जित्ने सबैभन्दा सरल तर कठिन उपाय भनेको इमानदार आत्ममूल्यांकन हो—हामीले के ग¥यौँ र के गर्न सकेनौँ भन्ने स्वीकारोक्ति दुर्भाग्यवश, यस्तो स्वीकारोक्ति राजनीतिमा दुर्लभ छ । त्यसैले मतदाता अन्योलमै छन् ।

यहाँका धेरै मतदाताले भोटलाई अब केवल अधिकार होइन, जिम्मेवारी को रूपमा हेर्न थालेका छन् । गलत निर्णयको मूल्य पाँच वर्षसम्म तिर्नुपर्छ भन्ने बोध उनीहरूलाई छ । त्यसैले हतार छैन । तर समय त बित्दैछ । निर्वाचनको मिति नजिकिँदैछ, तर निर्णय अझै टाढा देखिन्छ । अन्ततः बर्दिया–१ को यो अन्योल एउटा गम्भीर चेतावनी हो । यो चेतावनी राजनीतिक दलका लागि हो, नेताका लागि हो, र लोकतन्त्रका लागि हो । यदि यो अन्योललाई बेवास्ता गरियो भने, भोलि यही अन्योल उदासीनतामा बदलिन सक्छ । र उदासीनता लोकतन्त्र को सबैभन्दा ठूलो शत्रु हो । अबको चुनाव बर्दिया–१ का लागि केवल जित–हारको प्रतिस्पर्धा नबनोस् । यो आत्मसमीक्षा, भरोसा पुनर्निर्माण र राजनीतिलाई फेरि जनतासँग जोड्ने अवसर बनोस् । नत्र, मतदानको दिन त आउला, मतपेटिका भरिएला, तर जनताको मनभित्रको प्रश्न खाली नै रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर