दुई सिटका लागि बर्दियामा ४० उम्मेदवार
शुक्रबार, माघ १०, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक

बर्दिया,माघ ९/ दुई प्रतिनिधि सभा सदस्यका लागि भईरहेको निर्वाचनमा ४० जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नंम्बर १ मा २२ जना र निर्वाचन क्षेत्र नंम्बर २ मा १८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराएका मध्ये चार जना स्वतन्त्र उम्मेदवार छन् भने बाँकी सबै दलका छन् ।

क्षेत्र नंम्बर १ मा तीन जना र २ मा १ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नंम्बर १ मा बारबर्दिया नगरपालिका–१० का निर्मल अधिकारी, बढैयाताल गाउँपालिका–३ तमौलीपुरका मोहन पौडेल, काठमाडौं बुढानीलकण्ठ नगरपालिका–८ का घनश्याम अधिकारी र क्षेत्र नंम्बर २ मा गेरुवा गाउँपालिका–२ उल्टनपुरका नुतन कुमार चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यस्तै क्षेत्र नंम्बर १ मा तीन र २ मा २ जना महिलाले उम्मेदवारी दिएका छन् । १ बाट चन्द्रा कुमार राजगुरु, ज्योती योन्जन, पवित्रा शाहीले उम्मेदवारी दिएका छन् भने २ बाट विमला विक र निता शर्माले उम्मेदवारी दिएका छन् ।

निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट पूर्वमन्त्री संजय कुमार गौतम, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट थारु आयोगका पूर्वअध्यक्ष विष्णु प्रसाद चौधरी, एमालेबाट शालिकराम अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ठाकुरसिंह थारुलगायत अन्य दलका उम्मेदवारले उम्मेदवारी दिएका छन् । यस्तै २ मा नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री किशोर सिंह राठोर, एमालेबाट पूर्वमन्त्री विमला विक र नेपाली कम्युनिस्ट पार्टीबाट सुरेश पन्थलगायत अन्य दलका उम्मेदवारले उम्मेदवारी दिएका छन् । जिल्लामा मंगलबार उम्मेदवारी दर्ता गरेका कुनै पनि उम्मेदवारका विरुद्ध उजुरी नपरेको बुधबार साँझ मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको थियो ।

बर्दिया निर्वाचन क्षेत्र नंम्बर १ मा ८३ हजार ८ सय ३ पुरुष, ८४ हजार २ सय २७ महिला र अन्य ४ जना गरी १ लाख ६८ हजार ३४ मतदाता रहेका छन् । यस्तै क्षेत्र नंम्बर २ मा ७५ हजार ५ सय ८४ पुरुष, ७९ हजार ६ सय ४६ महिला र अन्य २ जना गरी १ लाख ५५ हजार २ सय ३२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्यांकले पुष्टि गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर