हाट बजार अगाडि अटोको लर्को,सर्वसाधारणलाई हैरानी
आइतबार, माघ १२, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक

बर्दिया, माघ १०/ गुलरियाको हाट बजारको मुख्य गेट अगाडि अटो रेक्साहरूको लामो लर्को लाग्दा सर्वसाधारणलाई सास्ती हुने गरेको छ ।
हप्ताको दुई दिन लाग्ने हाट बजारमा किनमेल गर्न आउने ग्राहक, पैदलयात्री तथा सइकलयात्री अटोको अव्यवस्थित पार्किङका कारण सर्वसाधारणलाई सास्ती व्यहोर्नु परेको हो ।

मुख्य गेट अगाडि नै अटोहरू जथाभावी रोकिँदा सडक साँघुरो बनेको छ भने आवत–जावतमा समेत अवरोध सिर्जना भएको स्थानीयको गुनासो छ । विशेषगरि साँझको भीडभाडको समयमा दुर्घटनाको जोखिम समेत बढेको देखिन्छ । स्थानीय व्यापारीहरूका अनुसार अटो चालकहरूले यात्रु पर्खने नाममा लामो समयसम्म सडकमै अटो रोकेर राख्ने गरेका छन्, जसले बजारक्षेत्रको व्यवस्थापनमा समस्या देखिएको छ । सर्वसाधारणले सम्बन्धित निकाय र ट्राफिक प्रहरी लाई यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

जिल्ला ट्राफिक कार्यालय बर्दियामा जनशक्ति कम भएको कारणले गर्दा अहिले बीचमा त्यस्तो समस्या देखा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवंम् प्रहरी निरीक्षक सन्दीप बेलबासेले बताए । ‘बर्दिया भरि मेला लागेको कारण हामीले हाटबजार तर्फ ध्यान दिन पाएका छैनौँ,’ प्रहरी निरीक्षक बेलबासेले भने,‘म भोलिबाटै यो समस्या न्यूनीकरण गर्नतर्फ लाग्छु ।’

सम्बन्धित निकायले अटोका लागि निश्चित पार्किङ क्षेत्र तोक्ने र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने हो भने यस्तो समस्या समाधान हुने स्थानीयको अपेक्षा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर