गुलरिया बजार क्षेत्रको सडक सरसफाई
आइतबार, माघ १९, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक

बर्दिया, माघ १८/ गुलरिया बजार क्षेत्रको सडक सरसफाई गरिएको छ । सहिद दिवसको अवसरमा शुक्रबार गुलरिया बजार तथा आसपासका सडक सरसफाई गरिएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त सरसफाई कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयका विद्यार्थीहरू, नेपाल प्रहरी तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले हातमा कुचो, बोरा र पञ्जा लगाएर सडक र सार्वजनिक स्थानमा फालिएका फोहोर संकलन गरेका थिए । सरसफाई कार्यक्रम मार्फत स्वच्छ र सुन्दर नगर निर्माणमा सबैको साझा जिम्मेवारी रहेको सन्देश प्रवाह गरिएको थियो ।

‘मेरो बाटो मेरो जिम्मेवारी, सफा गरौँ वरिपरि’ तथा ‘अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने’ भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा सहिदहरूको बलिदानलाई स्मरण गर्दै सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्य राखिएको एक विद्यार्थीले बताए । स्वच्छ वातावरणले स्वस्थ जीवनशैली र सुन्दर नगर निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले सबै नागरिक सचेत र सक्रिय हुन सहभागिले आग्रह गरेका छन् ।

आफूले खाएर बचेको फोहर भुइँमा नफालेर आफ्नो गोजीमा वा डस्टबिनमा फाल्यो भने हाम्रो समाज स्वच्छ रहने विद्यार्थीहरूको धारणा रहेको छ । जसले फोहर गरेपनि आफ्नो घर आँगन अगाडि फोहोर देखेपछि त्यसलाई सफा गर्ने हरेक नागरिकको कर्तव्य रहेको उनीहरुले जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर