अभिनव कुमार पाठक
बर्दिया, माघ १९ / विद्यार्थीहरुको सिप वृद्धिको लागि साइन्स एक्जिबिसन तथा फुड फेस्टिवल गरिएको छ । गुलरिया नगरपालिका–५ स्थित जनज्योति सेकेन्डरी बोर्डिङ स्कुलमा आइतबार साइन्स एक्जिबिसन तथा फुड फेस्टिवल–२०८२ भव्य रूपमा सम्पन्न भएको हो । विद्यार्थीहरूको सिर्जनशीलता, वैज्ञानिक सोच र व्यवहारिक सीपलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीयहरूको सहभागिता रहेको थियो ।
साइन्स एक्जिबिसन अन्तर्गत विद्यार्थीहरूले घरमै तयार पारेका विभिन्न वैज्ञानिक सामग्री प्रदर्शन गरेका थिए । जसमध्ये ज्वालामुखी (भोल्कानो मोडल), तोप, वाटर डिस्पेन्सर, नमूना सहर, विन्ड मिल, हिटर लगायतका सामग्रीहरू प्रमुख आकर्षणका रूपमा देखिएका थिए । सरल सामग्री प्रयोग गरेर तयार गरिएका यी मोडलहरूले विज्ञानलाई व्यवहारिक र रोचक ढङ्गले बुझ्न सहयोग पु¥याएको सहभागीहरूको भनाइ थियो ।
त्यस्तै, फुड फेस्टिवलमा विद्यार्थीहरूले आफैँ सामग्रीको व्यवस्थापन गरी विभिन्न परिकारहरू तयार पारेका थिए । ढिक्री, पुरी अचार, कफी, चाउमिन, ओरियो सेक, आलु टिकिया, मःम, सेलरोटी, जनकपुरीया पकैडा लगायतका स्वादिष्ट परिकारहरू स्टलमा राखिएको थियो ।
विद्यार्थीहरूले खाना बनाउने सीपसँगै व्यवस्थापन, सरसफाइ र सेवाको अनुभव समेत हासिल गरेको शिक्षक निरज कर्णले बताए ।
कार्यक्रम सफल बनाउन विद्यालयका शिक्षक–शिक्षिकाहरूले विद्यार्थीहरूलाई आवश्यक निर्देशन तथा सहयोग गरेका थिए । यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास बढाउने, सीप विकास गर्ने र व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने विद्यालयको विश्वास छ ।

