बर्दिया, माघ २० / श्री विद्याज्योति माविको आयोजनामा सम्पन्न भएको स्वर्ण महोत्सवको आय व्यय सार्वजनिक गरिएको छ । बढैयाताल गाउँपालिका–८ कण्ठपुर स्थित रहेको श्री विद्या ज्योति नमुना माध्यमिक विद्यालयको आयोजनामा सोमबार आय व्यय सार्वजनिक गरिएको हो । पुस १७ गते विद्यालय ५०औं वर्ष पार गरी ५१औं वर्षमा प्रवेश गरेको अवसरमा विद्यालयले स्वर्ण महोत्सवको आयोजना गरेको थियो । नयाँ ४५ जना दाताबाट अक्षयकोषको लागि रु ६० लाख ४९ हजार १ सय ८८ संकलन भएको श्री विद्याज्योति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापाक भक्ति सागर रेग्मीले बताए ।
‘नयाँ ४५ र पुराना ४ जना गरी जम्मा ४९ जना दाताको सहयोगबाट ठुलो रकमको अक्षयकोष स्थापना भएको छ,’उनले भने,‘पहिला ४ जनाले रु.५ लाखको अक्षयकोष स्थापना गरेका थिए ।’ स्वर्ण महोत्सवको अवसरमा अक्षयकोषको लागि संकलन भएको रु ६० लाख बढी रकम तत्काल बैंंकमा राखिने विद्यालयको योजना रहेको उनले सुनाए ।
यस्तै महोत्सव संचालन खर्चको लागि जम्मा रु १९ लाख ६३ हजार १ सय ५ उठेकोमा रु ११ लाख ६४ हजार ८ सय ४३ खर्च भई रु ७ लाख ९८ हजार ६२ बचेको जनाईएको छ । बचेको रकम पनि अक्षयकोषमा जम्मा गरिने विद्यालयले जनाएको छ ।
स्वर्ण महोत्सवको अवसरमा सो विद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थी, पुर्व शिक्षक, हाल कार्यरत शिक्षक, समाजसेवी र अभिभावकले अक्षयकोष स्थापनाको लागि सहयोग गरेका थिए ।

