‘गुलरियामा चिया बेचेर छोरालाई ओभरसियर पढाइरहेछु’
मङ्गलबार, माघ २१, २०८२ मा प्रकाशित

गमबहादुर खत्री

बर्दिया, माघ १९/ हाम्रो देशमा रोजगारी खोज्नु भनेको फोकटमा भौतारिनु हो । काम देऊ भनेर कसलाई भन्नू ? देशमा जागिर नपाएर युवाहरू दिनदिनै विदेशिनु परिरहेको छ । फेरि केही सीप नसिकेर विदेश पुगेका युवाले दुःख पाइरहेको समाचार सुन्दा दुःख लाग्छ । स्वदेशमा मिहिनेत गरे अनुसार पक्कै धेरै कमाउन सकिँदैन । तर, भोकैचाहिँ मरिन्न जस्तो लाग्छ । सुरुमा कमाउने उद्देश्यले केही वर्ष भारतमा बिताएँ । परदेशमा मिहिनेत गर्नु बेकार लागेर आफ्नै गाउँठाउँमा दुःख गर्छु भनेर फर्किएँ ।

गुलरिया नगरपालिका–४ तुलसीपुरमा बसोबास छ । अहिले ४२ वर्षको भएँ । परिवारको लालनपालनका लागि गुलरिया–६ स्थित सिटिजन्स बैंकको उत्तरपट्टि जिल्ला समन्वय समिति जाने बाटोमा गरिमा खाजा घर चलाइरहेको छु । खाजा घर सञ्चालन गरेको १७ वर्ष पुग्यो ।
सुरुआतमा खाजा घर चिनाउन धेरै दुःख सहनु प¥यो । त्यही बेलाको संघर्षले अहिले सफलता मिलिरहेको महसुस भइरहेको छ । अचेल मेरो पसलमा चियाका पारखीको भीड नै लाग्छ । भीड देख्दा गुलरियाका बासिन्दाको रोजाइँमा खाजा घर परेको जस्तै लाग्छ । एकपटक चिया पिएर गएका ग्राहक फर्किएर आउँदा औधि खुसी लाग्छ ।

खाजा घरमा बिहान ५ देखि राति १० बजेसम्म मानिसको बाक्लो उपस्थिति हुन्छ । ग्राहकको उपस्थिति र उनीहरूका गफगाफले मलाई थकाइ महसुस हुँदैन । उपभोक्ताको धित मार्ने स्वादिलो चिया बनाएर आफैंले दिने गरेको छु । अहिले त गुलरिया बजारका आधा व्यापारीले फोन गरेर चियाको अर्डर गर्छन् । कति त आफैं चिया लिन आउँछन् । टाढासम्म पु¥याउनु प¥यो भने श्रीमती चन्द्रा खटिन्छिन् । दिनभरि यताउता चिया पु¥याउँदा पु¥याउँदै उनी पनि साँझसम्म लखतरान हुन्छिन् । श्रीमान्–श्रीमती नै दिनभरि चिया पकाउन अनि पु¥याउन व्यस्त हुन्छौं । गुलरियाको मालपोत कार्यालय, प्रभु बैंक, जनज्योति स्कुल लगायत आसपाससम्म चिया पु¥याइरहेको छु । श्रीमान्–श्रीमती र छोरा–छोरी गरेर चार जनाको परिवार छौं ।

खेती गर्न जग्गा–जमिन छैन । दिनभरि चिया बेचेर सम्पूर्ण आवश्यकता पूरा गरिरहेको छु । गुलरिया–८ स्थित श्री महाकवि देवकोटा माविमा छोरालाई तीनवर्षे ओभरसियर पढाइरहेको छु । तीनवर्षे कोर्सका लागि करिब तीन लाख खर्च लाग्छ । छोरी एसईई दिने तयारी गर्दैछिन् ।
खाजा घर संचालन गरेर मज्जाले परिवार हुर्काइरहेको छु । मिहिनेतको कमाइले कसैका अगाडि हात फैलाउनु परेको छैन । बिहानदेखि साँझसम्म ३५ लिटर दूधको चिया बेच्छु । कुनै दिन अलि कमबढी हुन्छ होला ।

एभरेजमा दैनिक ३० लिटर दूधको चिया बिक्री हुन्छ । प्रतिकप चिया २५ रुपैयाँमा बेच्छु । दूधको प्रतिलिटर ९० रुपैयाँ छ । खाजा घरको भाडा महिनाको १० हजार बुझाउँछु । भाडा, पानी र विद्युत् गरी मासिक १४ हजार तिर्नुपर्छ । चिया बेचेको आम्दानीबाट घरखर्च र छोराछोरीलाई पढाउन मज्जाले पुगिरहेको छ । प्रस्तुति : रामप्रसाद चौहान/इकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर