अभिनव कुमार पाठक
बर्दिया,माघ २० / पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभि खोप अभियान सुरु हुँदैछ । यही माघ २५ गतेदेखि एचपिभि खोप अभियान सुरु हुने सोमबार स्वास्थ्य कार्यालयद्वरा आयोजित अभिमुखिकरणमा जनाइएको हो ।
किशोरीहरुलाई पछि गएर पाठेघरको मुखको क्यान्सरको संक्रमण हुन सक्छ । महिलाहरुमा पाठेघरको मुखको क्यान्सर गराउने भाइरस विरुद्धको एचपिभि खोप दिन लागेको स्वास्थ्य कार्यालयका खोप अभियानका फोकल पर्सन राजु कुमार खड्काले बताए । ‘यस वर्ष जिल्ला भरका ४ हजार ७ सय किशोरीहरुलाई एचपिभि खोप दिने योजना छ,’उनले भने,‘सरकारले अघिल्लो आर्थिक वर्षमा कक्षा ६ र समुदायमा रहेका १० देखि १४ वर्षका किशोरीहरुलाई दिईएको थियो ।’
चालु आर्थिक वर्षमा अघिल्लो वर्ष छुटेका कक्षा ६ का सम्पुर्ण किशोरीहरु र कक्षा ७ देखि १० वर्षका छुटेका किशोरी हरुलाई खोप दिईनेछ ।
यो नियमित खोप अभियान हो । जिल्ला स्थित कक्षा ६ देखि पढाई हुने सबै विद्यालयमा खोप लगाईने फोकल पर्सन खड्काले जनाए ।
एचपिभि खोप अभियानलाई सफल बनाउन जिल्ला स्थितका सम्पुर्ण संचारकर्मीले साथ सहयोग गर्ने नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरेले बताए ।
लक्षित समुहका किशोरीहरु नछुट्ने गरी खोप अभियान संचालन गर्न प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए । सम्बन्धित सबैले यस अभियानलाई सफल बनाउन आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने प्रजिअ हमालले धारणा राखे ।

