आचारसंहिता पालना गर्नुस्, संरक्षण काउन्सिलले गर्छ : अध्यक्ष आचार्य
बुधबार, माघ २२, २०८२ मा प्रकाशित

बर्दिया,माघ २१ / प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्यले पत्रकार तथा संचारमाध्यमले आचारसंहिता पालना गरे संरक्षण प्रेस काउन्सिलले गर्ने बताएका छन् । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पक्रकार महासंघ बर्दियाको समन्वयमा मंगलबार गुलरियामा
आयोजित निर्वाचन आचारसंहिता र मिडिया अन्तरक्रियामा अध्यक्ष आचार्यले आचारसंहिता पालना गर्नुपर्ने बताएका हुन् ।

‘प्रेस काउन्सिल पत्रकारको संरक्षण र प्रेस स्वतन्त्रताको रक्षा गर्ने निकाय हो,’ अध्यक्ष आचार्यले भने,‘तर, व्यक्तिगत स्वार्थको लागि कसैको चरित्र हत्या गर्नु हुँदैन ।’ यस्तै दर्ता नभएर संचालन भएका संचार माध्यम र गैरपत्रकारको संरक्षण नगर्ने उनले जनाए ।

आगामी निर्वाचनलाई लक्षित गरी काउन्सिलले पत्रकार र संचारमाध्यमको नियमित स्वअनुगमन गरिरहेको प्रेस काउन्सिल नेपालकी उप–प्रशासकीय अधिकृत सबिता ढकालले बताइन् । ‘पत्रकारिता क्षेत्रलाई व्यवस्थित, उदेश्यमुलक, जिम्मेवार र उत्तरदायी बनाउन आवश्यक छ,’ उनले भनिन्,‘स्वस्थ, स्वच्छ र व्यवस्थित गरी स्वतन्त्र पत्रकारिताको लागि आचारसंहिता निर्देशिका जारी छ ।’ प्रेस काउन्सिलले ७ वटा भाषामा पत्रकार आचारसंहिता जारी गरेको छ । देशभरबाट प्रकाशित अनलाइन र पत्रिका लाई काउन्सिलले नियमित स्वअनुगमन गरिरहेको उनले बताइन् ।

आचारसंहिता विपरीत समाचार सामग्री सम्प्रेषण गरेको पाइएमा सम्बन्धित संचार माध्यमलाई सुधार गर्न जानकारी गराउने र नमानेमा कारवाहीको लागि सम्बन्धित निकायलाई परिपत्र गर्ने जनाइएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा काउन्सिलले पत्रकारलाई प्राथमिकतामा राखी निर्वाचन आचारसंहिता सम्बन्धी सचेत गराएको पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताए । ‘निर्वाचनको रिपोटिङका बेला हामीबाट केही त्रुटि हुन सक्छ,’ अध्यक्ष घिमिरेले भने,‘निर्वाचन आचारसंहिता सम्बन्धी छलफलले पत्रकारलाई पुनःसचेत गराएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर