माघमा २१ फरार प्रतिवादी पक्राउ
आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित

बर्दिया,फागुन ३(फरकसमाचार)/ विभिन्न कसुरमा फरार रहेका २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । अदालतले सजाय तोकेको तर, सजाय भुक्तान नगरी फरार रहेका २१ जना प्रतिवादीलाई माघ महिनामा प्रहरीले पक्राउ गरेको हो । फरार प्रतिवादीहरुलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि अदालत समक्ष उपस्थित गराएको प्रहरीले जनाएको छ ।

अभद्र व्यवहार कसुरमा फरार रहेका राजापुर नगरपालिका–१ का बिवेक चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । कुटपिट कसुरमा फरार रहेका गुलरिया नगरपालिका–७ का सम्शेर लोनिया, मोति लोनिया, सोनु लोनिया र निवास लोनियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सरकारी लिखित किर्ते कसुरमा फरार रहेका बढैयाताल गाउँपालिका–३ सोरहवाका सुरज कुमार थारु पक्राउ परेका छन् ।

यस्तै चेक अनादर, सार्वजनिक अपराध, बैदेशिक रोजगार सम्बन्धी कसुर, लेनदेन, चोरी, कर्तव्य ज्यान र लागु औषध कसुरमा अदालतले सजाय तोकेका फरार प्रतिवादीलाई पक्राउ गरि अदालतमा उपस्थित गराएको प्रहरीले जनाएको छ ।

यस्तै राजापुर गोली काण्डमा संलग्न कैलाली कैलारी गाउँपालिका–५ मनिकापुरका ४० वर्षीय हरि चरण डगैरालाई माघ २७ गत निजको घरबाट पक्राउ गरि अदालतको आदेशले पुरपक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको १९ ठाउँमा लागूऔषध, लैङ्गिक हिंसा, अपराध र सवारी दुर्घटना न्युनिकरणका लागि समुदाय प्रहरी साझेदार कार्यक्रमबाट माघ महिनामा १ हजार २ सय ४१ जना लाभान्वित भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर