बर्दिया,फागुन ८(फरकसमाचार)/ निर्वाचन क्षेत्र नंम्बर १ मा एमालेले आम जनताको समस्यालाई समेटेर चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि क्षेत्र नंम्बर १ का जनतासंग जोडिएका प्रत्यक्ष समस्यालाई समेटेर एमालेले बिहीबार पत्रकार सम्मेलन गरि प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।
आफ्नो निर्वाचन क्षेत्रमा गर्ने मुलभुत प्रतिवद्धताका विषय वस्तुलाई आम जनताका बिचमा सम्प्रेषण गर्ने उदेश्यले प्रतिबद्धता पत्र सार्वजनिक
गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष एवंम् बर्दिया निर्वाचन क्षेत्र १ का प्रत्यक्ष उम्मेदवार शालिकराम अधिकारीले बताए । ‘प्रतिवद्धता पत्रमा विकास, समृद्धि र सुशासनलाई जोड दिएका छौं,’उनले भने,‘मुलुक र यस क्षेत्रको आवश्यकता लाई मध्यनजर गरी प्रतिवद्धता पत्र तयार गरेका छौं ।’
जिल्लाको समुन्नत विकासका निम्ति प्रतिवद्धता पत्रमा समावेश गरिएका विषय वस्तुलाई संघिय संसदमा उठाउने प्रतिवद्धता पत्रमा उल्लेख गरेको उनले भनाई राखे । निर्वाचन क्षेत्रमा अलपत्र पुल, बाटो पुनःनिर्माणको लागि मुख्य प्राथमिकतामा राख्ने र नदि कटान क्षेत्रमा व्यवस्थित तटबन्धन गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
कृषकका समस्यालाई समाधान गर्दै व्यवसायिकरण रआधुनिकीकरण गर्दै किसानलाई आत्मनिर्भर बनाईने, राष्ट्रिय गौरवको आयोजना हुने गरि निर्वाचन क्षेत्रमा थारु संग्रहालयको निर्माण गर्ने, बस्तीमा वन्यजन्तुले गरिरहेको क्षती न्युनिकरणका लागि कानुन र कार्यविधिमा रहेको जटिलता हटाउन पहल गर्ने र मानवबस्ती संरक्षणका लागि आवश्यक भौतिक संरचना तथा सुचना प्रणालीको व्यवस्थापन गरिने सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
यस्तै नेकपा एमालेको ‘एक घर : एक रोजगार’ अवधारणालाई सार्थक बनाउन निःशुल्क सिप विकासका तालिम दिई रोजगारीको अवसर सिर्जना गर्न पहल गरिने प्रतिवद्धता पत्रमा खुलाईएको छ । पूर्वाधार विकास, कृषि तथा सिंचाई, उद्योग व्यवसाय, कला संस्कृति, पर्यटन, आवास तथा भुमि व्यवस्था, वन तथा वातावरण, युवा रोजगार तथा खेलकुद, सुचना संचार तथा प्रविधि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकताका साथ प्रतिवद्धता पत्रमा उल्लेख गरी सार्वजनिक गरेको छ ।

