अभिनव कुमार पाठक
बर्दिया, फागुन १३/ बर्दिया निर्वाचन क्षेत्र नम्बर १ मा जम्मा २१ उम्मेदवार चुनावी मैदानमा छन् । चुनाव नजिकिएसंगै चुनावी माहोल ताँतिएको छ । यतिबेला चिया पसल देखि चोक चौराहामा निर्वाचन क्षेत्र नंम्बर १ मा कसले बाजी मार्ला भन्ने चर्चा भईरहेको छ । चुनावी माहोल प्रमुख पाँच दलका उम्मेदवार वरिपरि केन्द्रित रहेको आम मतदाताले बताउँछन् । काँग्रेसका संजयकुमार गौतम, रास्पाका ठाकुर सिंह थारु, नेकपाका विष्णु प्रसाद चौधरी, एमालेका शालिकराम अधिकारी र नेउपा नेपालका अब्दुल खानबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
लामो राजनीतिक अनुभव, संसदीय अभ्यास र मन्त्रीस्तरको जिम्मेवारी सम्हालेका उम्मेदवारले स्थिरता र अनुभवको आधार प्रस्तुत गरेका छन् भने केही उम्मेदवारले नयाँ पुस्ताको प्रतिनिधित्व, पारदर्शिता र सुशासनको एजेन्डा अघि सारेका छन् । स्थानीय तहदेखि संघीय तहसम्मको अनुभव बोकेका नेताहरू संगठनात्मक संरचना र कार्यकर्ताको बलमा चुनावी मैदानमा छन् ।
मानव वन्यजन्तु द्वन्द्व न्युनीकरण, विकास निर्माण, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार बिस्तार जस्ता विषय यस क्षेत्रका उम्मेदवारको मुख्य चुनावी एजेन्डा छन् । केही उम्मेदवारले स्थानीय मुद्दालाई प्राथमिकतामा राख्दै प्रत्यक्ष जनसरोकारका कार्यक्रम अघि सारेका छन् भने केहीले नीतिगत सुधार गरी सुशासन कायम गर्ने जोड दिएका छन् । मतदाताले यसपटक अनुभवी नेतृत्व रोज्ने कि नयाँ विकल्प रोज्ने भन्ने चासो बढेको देखिन्छ । चुनाव नजिकिएसँगै बर्दियाको राजनीतिक तापक्रम पनि उक्लिँदो छ ।
मतदाताको मनोविज्ञान पनि यसपटक रोचक देखिएको छ । युवा नेतृत्व र परिवर्तनको चाहना एकातिर छ भने अनुभवी नेतृत्वमार्फत स्थायित्व र पहुँचको अपेक्षा अर्कोतिर देखिन्छ । यसरी अनुभव, युवा ऊर्जा, संगठनात्मक शक्ति, विकासको दृष्टिकोण र मुद्दामुखी राजनीतिका आधारमा अन्ततः ‘को कतिको योग्य’ भन्ने निर्णय मतदाताको हातमा छ । सामाजिक सञ्जालदेखि चिया पसलसम्म चुनावी बहस चलिरहेको छ । उम्मेदवारहरू अन्तिम चरणको घरदैलो, प्रचार–प्रसार र मतदातासँग प्रत्यक्ष संवादमा केन्द्रित छन् ।
प्रमुख दलका उम्मेदवारहरुको संक्षिप्त पृष्ठभुमि
संजयकुमार गौतम (नेपाली कांग्रेस)
संजयकुमार गौतम नेपाली कांग्रेसका उम्मेदवार हुन् । २०३६ सालदेखि विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका उनले २०७० मा संविधानसभा सदस्य र २०७४ मा प्रतिनिधिसभा सदस्य जितेका थिए । २०६४ मा माओवादीका विष्णुप्रसाद चौधरीसँग पराजित भए पनि २०७४ मा तत्कालीन एमाले नेता वामदेव गौतमलाई हराएर चर्चामा आएका थिए । २०७४ मा ६ महिना २० दिन सिंचाइ मन्त्रीको जिम्मेवारी सम्हालेका गौतम पार्टीका केन्द्रीय सदस्यसमेत हुन् । लामो राजनीतिक अनुभव र संगठनमा पकडका कारण उनलाई जिल्लामा प्रभावशाली नेताका रूपमा चिनिन्छ ।
ठाकुर सिंह थारु (राष्ट्रिय स्वतन्त्र पार्टी)
ठाकुर सिंह थारु राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन् । २०३१ सालमा जन्मिएका थारु कानुन व्यवसायीका रूपमा परिचित छन् । २०५६ सालदेखि वाम राजनीतिमा सक्रिय उनी नागरिक उन्मुक्ति पार्टी हुँदै रास्वपामा आबद्ध भएका हुन् । २०७९ सालमा नागरिक उन्मुक्तिबाट प्रतिनिधिसभा उम्मेदवार बने पनि पराजित भएका थिए । बर्दिया बढैयातालका स्थायी बासिन्दा थारु नयाँ पुस्ताका प्रतिनिधिका रूपमा उभिएका छन् । स्थानीय मुद्दा, सुशासन र वैकल्पिक राजनीतिक अभ्यासमा जोड दिने उनको प्रतिबद्धता रहेको छ ।
विष्णु प्रसाद चौधरी (नेकपा)
विष्णु प्रसाद चौधरी २०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका नेता हुन् । बारबर्दियाका स्थायी बासिन्दा चौधरी पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री तथा थारु आयोगका अध्यक्षसमेत भइसकेका छन् । नेकपा (माओवादी केन्द्र) पृष्ठभूमिबाट राजनीति सुरु गरेका उनले जिल्लामा प्रभाव कायम राखेका छन् । २०६४ मा संजयकुमार गौतमलाई पराजित गरेर चर्चामा आएका चौधरी हाल पनि सक्रिय राजनीतिमा छन् । सामाजिक न्याय र थारु समुदायका मुद्दामा उनको जोड रहने गरेको छ ।
शालिकराम अधिकारी (एमाले)
शालिकराम अधिकारी २०४४ सालदेखि वाम विद्यार्थी राजनीतिमा सक्रिय नेता हुन् । हाल बर्दिया एमाले अध्यक्ष रहेका अधिकारी २०७४ देखि २०७९ सम्म बाँसगढी नगरपालिकाका प्रमुख बनेर काम गरेका थिए । स्नातक तहसम्म अध्ययन गरेका उनी लुम्बिनी प्रदेश सदस्य समेत भइसकेका छन् । चितवनमा जन्मिए पनि बर्दियामा राजनीतिक आधार बनाएका अधिकारी पहिलो पटक प्रतिनिधिसभा चुनावी प्रतिस्पर्धामा छन् । स्थानीय तहको अनुभव र संगठनात्मक सुदृढताका आधारमा उनले चुनावी मैदानमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
अब्दुल खान (नागरिक उन्मुक्ति पार्टी नेपाल)
अब्दुल खान नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार हुन् । २०४३ सालमा जन्मिएका खानले २०६८ सालदेखि राजनीतिक यात्रा सुरु गरेका हुन् । यस अघि उनी जनमत पार्टीबाट समानुपातिक प्रतिनिधिसभा सदस्य बनेका थिए । हाल उनी नागरिक उन्मुक्ति पार्टी नेपालबाट उम्मेदवार छन् । खानेपानी मन्त्री तथा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापतिको जिम्मेवारी सम्हालिसकेका छन् । स्वास्थ्य विषयमा बीपीएच र एमपीएच अध्ययन गरेका उनले बर्दियामा सामाजिक तथा विकासका मुद्दा उठाउँदै आएका छन् ।

