अभिनव कुमार पाठक
बर्दिया,फागुन १४/ नजिकिंदै गरेको होली पर्व प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तथा मौन अवधिमा परेकोले आचारसंहिता पालना गरी मनाउन सर्वपक्षीय बैठकबाट निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा बुधबार बसेको सर्वपक्षीय सर्वदलीय बैठकबाट आचारसंहिताको पालना गरी चाडपर्व मनाउने निर्णय गरिएको हो ।
निर्वाचनको शान्ति सुरक्षा र आचारसंहिता परिपालनालाई ध्यानमा राखी राजनीतिक दल, उम्मेदवार, मतदाता तथा जिल्लावासी बिच आपसी सद्भाव कायम राखी सौहार्दपुर्ण वातावरणमा होली पर्व मनाउन आग्रह गरिएको छ । मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, हिलो, गोबर, मोबिल प्रयोग नगर्न र जबरजस्ती कसैलाई रंग नलगाउन जारी सुचनामा उल्लेख छ ।
चर्को आवाजमा डिजे, अनुमति बिना भिडभाड हुने कार्यक्रम तथा निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी, कर्मचारी वा सर्वसाधारणलाई दुःख दिने जस्ता कानुन विपरीतका कार्य नगर्न अनुरोध गरिएको छ । प्रचलित कानुन तथा निर्वाचन आचारसंहिता विपरीतका कार्य गरेमा कानुन बमोजिम कारवाही गरिने प्रशासनले सुचनामार्फत जनाएको छ ।
यस्तै हिन्दुहरुको होली र इस्लाम धर्मावलम्बीहरुको रमजान पर्व शान्तिपुर्ण, सभ्य, मर्यादित र सामाजिक सद्भाव कायम राखी पर्व मनाउन सर्वदलीय सर्वपक्षीय बैठकले निर्णय गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि वातावरण निर्माण, सामाजिक सद्भाव, कार्यान्वयन र अनुगमन सम्बन्धमा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले निर्णय गरेको छ ।

