अभिनव कुमार पाठक/कृष्ण प्रसाद भुसाल
बर्दिया,फागुन १५/ आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा छ । जिल्ला निर्वाचन कार्यालयको आयोजना तथा जिल्ला प्रशासनको समन्वयमा बिहीबार आयोजित संचारकर्मीहरुसंगको अन्तरक्रिया एवंम् छलफल कार्यक्रममा निर्वाचनको तयारी अन्तिम चरणमा रहेको जनाईएको हो । स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउने गरी तयारी गरिएको छलफलमा जनाईएको छ ।
निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले बताए । ‘निर्वाचनको लागि जनशक्ति खटनपटनको कार्य सकिएको छ,’मुख्य निर्वाचन अधिकृत श्रेष्ठले भने,‘जिल्ला जनशक्ति व्यवस्थापन समितिले पठाएको विवरणको आधारमा खटनपटन गर्दा समस्या भयो । सो विवरण अनुसार यस अघिका निर्वाचनमा मतदान अधिकृत वा सहायक मतदान अधिकृत भईसकेको छुट्याउन सकेनौं, जसकारण यस अघिको निर्वाचनमा मतदान अधिकृत भइसक्नु भएका पनि सहायकमा परेको हुन सक्छ, तर,उहाँहरुको पदमा तलमाथि भएको होइन ।’ निर्वाचनमा खटिने जनशिक्तलाई आवश्यक तालिम सम्पन्न भईसकेको छ । निर्वाचन आयोगबाट मतपत्र पनि प्राप्त भईसकेको उनले जनाए ।
निर्वाचनलाई कहि कतैबाट थ्रेट नहुने गरी तयारी गरेको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए । ‘जिल्लामा निर्वाचन आचारसंहिता पालनाको विषयमा निर्वाचन आयोगमा लिखित उजुरी दर्ता भएको छैन,यो जिल्लाको लागि राम्रो हो,’प्रजिअ हमालले भने,‘बाँकी बचेको दिनमा पनि आचारसंहित उल्लंघन नगरिदिन राजनीतिक दलसंग आग्रह गरेको छु ।’ विगतको निर्वाचन भन्दा अहिलेको निर्वाचन फरक भएको कारण सबैले सचेतना अपनाउनुपर्ने आवश्यक रहेको प्रजिअ हमालले धारणा राखे ।
‘निर्वाचन आचारसंहित उल्लंघन गरेको १३ वटा मौखिक जानकारी प्राप्त भएको थियो,’सहायक प्रजिअ अशोक कुमार भण्डारीले भने,‘सम्बन्ति व्यक्तिहरुलाई आचारसंहिता उल्लंघन नगर्न मौखिक जानकारी गराई सचेत गराईएको छ ।’ मत बदर हुन नदिनको लागि गाउँ टोलमा मतदाता शिक्षा कार्यक्रम संचालन भईरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लाल बहादुर मल्लले जनाए ।
सरोज पौडेल (नेपाल प्रहरी उपरीक्षक)
नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन तीन वटै सुरक्षा निकायले समन्वय गरेको छ । जिल्लाको कुनै पनि एरिया नछुट्ने हिसाबले नियमित रुपमा गस्ती भईरहेको छ । मतदान सम्पन्न भएको तीन घण्टामा सुरक्षितसाथ मतपेटिका संकलन गरिसक्ने छौं । त्यसको लागि विशेष योजना बनिरहेको छ । मतदान स्थलमा खटिएका कर्मचारी, निर्वाचन प्रहरी र नेपाल प्रहरीहरुको सोही ठाउँमा नाम पठाएर समानुपातिकमा मतदान गर्ने व्यवस्था मिलाएका छौं ।
दिनेश कुमार महत (सशस्त्र प्रहरी उपरीक्षक)
निर्वाचन र मुख्य निर्वाचन कार्यालयको सुरक्षाको लागि माघ २ गतेबाट सशस्त्र प्रहरी परिचालन गरिएको छ । यस्तै माघ २१ गते देखि डिएसपीको कमाण्डमा दुवै निर्वाचन क्षेत्रमा सुरक्षा बेस स्थापना गरिएको छ । निर्वाचन क्षेत्र नंम्बर १ को लागि कतर्निया र क्षेत्र नंम्बर २ को लागि खातामा सुरक्षा बेस स्थापना भएको छ । यस्तै जिल्लाको सम्पुर्ण ठाउँमा मोबाइल तथा पैदल गस्ती टोली खटिसकेका छन् । खटिएका टोलीले मतदान स्थलको अवस्था बुझेर निरन्तर निगरानी गरिरहेका छन् । नेपाल भारतको सीमा नाकाबाट आवतजावत गर्ने गाडीको आवागमन कम गर्नको लागि रेकर्ड राख्न सुरु गरिएको छ । सीमा क्षेत्रमा हुने चोरी पैठारी, लागु औषध, हातहतियार ओसार पसार र गैर नागरिकको घुसपैट न्युनीकरण गरिएको एसपी महतले विश्वास दिलाए । सीमा सुरक्षाको सम्बन्धमा भारतीय सशस्त्र प्रहरीका दुई वटा बटालिएनसंग छलफल गरिसकेका छौं ।
रुपेश सिटौला (बज्रदल गण सुरक्षा गुल्मका सेनानी)
जिल्लाको कुनै पनि निर्वाचन स्थलमा केही समस्या उत्पन्न भएमा १० मिनेटमा नेपाली सेना पुग्ने गरी व्यवस्था मिलाईएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले संयुक्त रुपमा गस्ती गरिरहेको अवस्था छ ।

