चितुवाको आक्रमणबाट राजापुरका बालकको मृत्यु, गुलरियाका एकसहित चार घाईते
बिहिबार, फागुन २१, २०८२ मा प्रकाशित

बर्दिया, फागुन २१ (फरकसमाचार)/ एकैदिन चितुवाले दुई ठाउँमा आक्रमण गर्दा एक बालकको मृत्यु भएको छ भने चार जना घाईत भएका छन् । चितुवाले आक्रमण गर्दा राजापुर नगरपालिका–१० कालाबंजरका ६ वर्षीय आदित्य चौधरीको बुधबार मृत्यु भएको हो । यस्तै चितुवाको आक्रमणबाट दुवै ठाउँको गरी चार जना घाईते भएका छन् ।

राजापुर नगरपालिका–१० कालाबंजर स्थित घरको आगनमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरी बालकलाई घाईते बनाएको थियो ।
बालकलाई उपचारको लागि तत्काल बर्दिया अस्पताल पु¥याउँदा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रमेश बिष्टले बताए ।

बालकलाई आक्रमण गरेको चितुवालाई भगाउन गएका सोही ठाउँका ४१ वर्षीय कृतिमान थारु,४१ वर्षीय धनीराम थारु र ३८ वर्षीय श्यामलाल थारु घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको नेपालगंज स्थित उपचार भईरहेको र अवस्था सामान्य रहेको जनाईएको छ ।

यस्तै बुधबार साँझ ५ बजे चितुवाले आक्रमण गर्दा गुलरिया नगरपालिका–२ संगमबस्तिका ५० वर्षीय नसरुदिन गुज्जर घाईते भएका छन् । गुज्जर र उनकी श्रीमति खेतमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गरेको थियो । गुज्जरकी श्रीमतिले होहल्ला गर्दा चितुवा छोडेर भागेको थियो । गुज्जरको घाटी र कम्मरमा चोट लागेको छ । उनको बर्दिया अस्पतालमा उपचार भईरहेको डिएसपी बिष्टले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय