अभिनव कुमार पाठक
बर्दिया,फागुन २६/ बाटो बनाउन निकुञ्जले रोकेपछि स्थानीय आक्रोसित भएका छन् । बारबर्दिया नगरपालिका–९ कतर्निया देखि ढकेला जाने बाटो बनाउन निकुञ्जले रोकेपछि स्थानीय आक्रोसित भएका हुन् । बाटो बनाउँदै गरेको जेसिबीलाई निकुञ्जले नियन्त्रणमा लिएपछि आक्रोसित स्थानीयले सोमबार दिउँसो पुर्वपश्चिम राजमार्ग अन्तर्गत कतर्निया स्थित बाटो बन्द गरी विरोध गरेका थिए । स्थानीयले बाटो बन्द गरेर निकुञ्जको विरुद्धमा प्रदर्शन गर्दा पुर्वपश्चिम राजमार्ग केही बेर अबरुद्ध भएको थियो ।
केही बेरपछि अबरुद्ध बाटो सुचारु भएको बारबर्दिया नगरपालिका–९ का वडा अध्यक्ष देवेन्द्र कुमार बिष्टले बताए । ‘नगरको बजेटमा विस २०७७ सालमा कतर्निया देखि ढकेला जाने बाटोको ठेक्का भएको थियो,’अध्यक्ष बिष्टले भने,‘पहिला ठेक्का भईसकेको बाटो बनाउने क्रममा निकुञ्जले रोक्न खोज्दा विवाद भएको हो ।’ सो विषयमा निकुञ्जसंग समन्वय भईरहेको अध्यक्ष बिष्टले जनाए ।
बिना अनुमति बाटो बनाउँदै गरेको भे १ प १४७७ नंम्बरको जिसिबी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको बर्दिया राष्ट्रिय निकुञ्जका सुचना अधिकारी सरोजमणी पौडेलले बताए ।

