भान्जीको बिहेका लागि ७० हजार रुपैयाँ लिएर घर आउँदै थिए सोनार, तर…
शनिबार, मङि्सर २७, २०७७ मा प्रकाशित

मंसिर २७ काठमाडौँ । शुक्रबार हत्या गरेर फालेको अवस्थामा भेटिएका पर्साको वीरगञ्ज महानगरपालिका–३२ पारसवा निवासी ४७ वर्षीय सुरेन्द्र साह सोनार आफ्नो भान्जीको बिहेका लागि घर फर्किँदै गरेको खुलेको छ ।

सोनार बिहीबार अर्थात २५ मंसिर साँझदेखि हराएका थिए ।

बाराको सिमरास्थित जगदम्बा स्टिलमा मजदुरी गर्दै आएका सोनार २५ गते आफ्नो ड्युटी सकेपछि भान्जीको बिहेको लागि उद्योगबाट रकम लिएर निस्किएका थिए । सोनारको भान्जीको बिहे २६ मंसिरको लागि तय भएको थियो ।

भान्जीको बिहेमा मामा नै हराएपछि परिवारले उनको खोजी सुरु गर्यो । भोलिपल्ट बिहान ११ बजे स्थानीयले सोनारको शव देखे । तत्कालै स्थानीयले नजिकैको प्रहरी कार्यालयमा खबर गरे ।

मृतकको परिवारका अनुसार सोनारले भान्जीको बिहेको लागि उद्योगबाट ७० हजार रुपैयाँ लिएर निस्केका थिए । ‘बिहेको तयारीको लागि हामी सबै भान्जीको घर गएका थियौँ,’ सोनारको परिवारले प्रहरीसमक्ष भनेका छन्, ‘सोनारलाई पनि सिधै भान्जीको घर आउन भनेका थियौँ ।’

जिल्ला प्रहरी कार्यालय पर्साको अनुसार ७० हजार रुपैयाँको लागि सोनारको हत्या भएको हुनसक्छ । सोनारको शव विवाहस्थलबाट ५०० मिटर नजिकै रहेको कुलोमा फेला परेको पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तले जानकारी दिइन् ।

‘गम्छाले घाँटी कसेको अवस्थामा साहको शव फेला परेको हो । आँखामा पनि चोट छ,’ एसपी पन्तले भनिन्, ‘सोनारको कर्तव्य गरी हत्या गरेको देखिन्छ । पोष्टमार्टम रिपोर्ट आइसकेको छैन, घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’ सोनारको शव भेटिएको घटनास्थल नजिकै रगत लतपतिएको अवस्थामा लठ्ठी फेला परेको छ ।

घटनास्थलको जाँच मुचुल्कापछि सोनारको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । हत्याको आशंका गरेपनि प्रहरीले अहिलेसम्म शंकास्पद कसैलाई पक्राउ गरेको छैन ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर