दीपकलाल श्रेष्ठ
बर्दिया चैत १८/ गुलरियामा लोक सेवा आयोग तहको निःशुल्क तयारी कक्षा संचालन भएको छ । गुलरियामा शनिबार देखि लोक सेवा आयोग तहको तयारी कक्षा संचालन भएको हो ।
लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालय सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्ज बाँकेको आयोजनामा कार्यक्रम संचालन हुन लागेको सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्ज बाँकेका प्रमुख उद्धव प्रसाद श्रेष्ठले बताए ।
गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका बस्ने स्थानीयहरुलाई मात्र सहभागी रहने यस निशुल्क तयारी कक्षा गुलरिया नगरपालिका–८ को महाकवि देवकोटा माध्यमिक विद्यालयमा संचालन हुने ३५ दिन सम्म चल्नेछ । यस निशुल्क तयारी कक्षामा करिब ४ सय ६४ सहभागी रहने, यी मध्य नायब सुब्बामा २ सय १० जना खरिदारमा १ सय ८६ जना र वन रक्षकमा ६८ जना सहभागी रहेको श्रेष्ठले जानकारी दिए ।
निरन्तर अध्ययन गरेर मात्र लोक सेवा आयोगमा नाम निकाल्न सकिने लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव थानेश्वर ज्ञवालीले बताए । एक पटकमा असफल भए पनि निरन्तर लोक सेवा आयोगको परिक्षा दिइरहन सहभागीलाई सचिव ज्ञवालीले सुझाए । लोक सेवा आयोग परिक्षा गाह्रो हुने भएकोले ३५ दिने निशुल्क तयारी कक्षा कम समय भएकोले समय बढाउन पर्ने जिल्ला समन्वय समित बर्दियाका प्रमुख सूर्य बहादुर बिष्टले सुझाए ।
यस क्षेत्रका युवालाई रोजगारको एक खुड्किलो रहोस् भन्ने उद्देश्यका साथ यो लोक सेवा आयोगको निशुल्क तयारी कक्षा संचालन गर्न लागिएको लुम्बिनी प्रदेश सांसद राजकुमार चौधरीले बताए । ‘सहभागीताको लागि धेरैको निवेदन आएको थियो’सांसद चौधरीले भने,‘सक्दो सहभागीलाई समेटेका छौं ।’ लोक सेवाको परिक्षा कडा हुने भएकोले कडा परिश्रम गरेर अध्ययनलाई बढि समय दिए पक्कै आयोगमा नाम निकाल्न सफल हुने सांसद चौधरीले भनाई राखे ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी तथा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, जिल्ला समन्वय समित बर्दियाका उपाध्यक्ष अनिता यादव, गुलरिया नगरपालिकाका उप –प्रमुख साबित्रा गौतम लगायतको उपस्थिती रहेको थियो ।