बर्दिया,साउन २७(फरकसमाचार)/ निजी लगानीमा गुलरियामा नौलो प्रस्तुतीका साथ हस्पिटल खुलेको छ । गुलरिया नगरपालिका–६ स्वास्थ्य कार्यालयको सामुन्ने गुलरिया सिटी हस्पिटल प्रालि खुलेको छ । जिल्लामा पहिलो पटक निजी लगानीमा सुविधा सम्पन्न हस्पिटल खुलेको हो । अब जटिल प्रकृतिका बिरामीहरु अन्य जिल्ला धाउनु पर्ने बाध्यता हटेको छ ।
विगतमा बर्दिया अस्पतालमा उपचार सम्भव नभएका बिरामीहरु बाँकेलगायत अन्य ठाउँमा जानुपर्ने बाध्यता थियो । गुलरियामै निजी अनुमानित पाँच करोडको लगानीमा सुविधा सम्पन्न अस्पताल संचालनमा आएपछि बिरामीहरु भौतारिनुपर्ने बाध्यता टरेको छ । यो जिल्लावासीको लागि सुखद खबर हो । पुजापाठ भई विधिवत रुपमा शुक्रबार हस्पिटलको उद्घाटन भएको छ । हस्पिटलमा इमरजेन्सी, ओपिडि, ओटी, एक्सरे, आईसियु, क्रिटिकल कियर र विशेषज्ञ सेवा उपलब्ध रहेको जनाईएको छ ।
तत्काल इमरजेन्सी र ओपिडि सेवा २४सैं घण्टा संचालन हुने हस्पिटलका प्रोप्राईटर डा.मुकेश झाले बताए । ‘हस्पिटलमा चाहिने आवश्यक मेसिन आईसकेको छ,’डा.झाले भने,‘ओटी र आईसियुको लागि आवश्यक पर्ने मेसिन दुई हप्तामा आउँछ ।’ करिब डेढ महिनामा हस्पिटलले पुर्ण रुपमा सेवा प्रर्वाह गर्नेछ । त्यसैगरि ६ महिनाभित्र हस्पिटलमा उच्च स्तरको सिटिस्क्यान सेवा उपलब्ध गराउने प्रोप्रार्ईटर डा.झाले जनाए ।
जिल्लाको शिक्षा र स्वास्थ्यको अवस्था अनुसार नयाँ भिजनको साथमा हस्पिटल संचालनमा ल्याएको गुलरिया सिटी हस्पिटलका अध्यक्ष सुधाकर मिश्राले बताए । ‘पहिला शिक्षा तर्फ टेक्निकल कलेज संचालनमा ल्याएको थिए,’अध्यक्ष मिश्राले भने,‘तर नेपाल सरकारको पोलिसी अनुसार आफ्नै एक सय बेडको अस्पताल नभएर संचालित कलेज बन्द भयो ।’
त्यसैको पुर्व तयारको लागि तत्काल २५ बेडको हस्पिटल संचालनमा ल्याएका छौं । यस हस्पिटललाई भविष्यमा एक सय बेडमा विस्तार गर्ने तयारी छ । यस हस्पिटल मार्फत् जिल्लावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा पस्कने योेजना रहेको अध्यक्ष मिश्राले जानकारी दिए ।