‘युवाहरूको क्षमता सीप र सेवामा पुऱ्याउन नेताहरूलाई आह्वान’
बुधबार, साउन ३०, २०८१ मा प्रकाशित

काठमाडौं,साउन ३० / नेपाल युवा सम्मेलन २०२४ का सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष युवा घोषणापत्र बुझाएका छन्। सातै प्रदेशबाट भेला भएका युवाहरूको दुई सम्मेलनबाट तयार पारिएको घोषणापत्र प्रधानमन्त्री समक्ष प्रस्तुत गरिएको हो।

नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद्को नेतृत्वमा, नेपालस्थित संयुक्त राष्ट्रसंघसँगको साझेदारी र नागरिक समाजका संस्थाहरूको सहयोगमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा सम्मेलनको आयोजना गरिएको थियो।

नेपालको युवा घोषणापत्रले ‘प्याक्ट अफ द फ्युचर (भविष्यको सम्झौता)’ मा योगदान गर्नेछ। यसले वर्तमान र भावी पुस्ताका लागि अझै उत्थानशील विश्व समुदायलाई बढवा दिन सदस्य राष्ट्रहरूको कार्य तथा प्रतिबद्धताको प्रारूप र खाकालाई निर्क्योल गर्नेछ। यो घोषणापत्रले युवाहरूलाई आफ्नो पूर्ण क्षमता उपयोगका लागि सीप र सेवामा पहुँच पुऱ्याउने सुनिश्चितता गर्न नेताहरूलाई आवश्यक कदमहरू चाल्न आह्वान गरेको छ।

नेपाल एक मध्यम आययुक्त देशमा स्तरोन्नति हुँदै गर्दा युवा विकासलाई गति दिन सामाजिक र आर्थिक अवसरहरू सिर्जना गर्ने तथा महिला र बालिका, अपाङ्गता भएका युवा र पछाडि पर्न सक्ने जोखिममा रहेकाहरूविरुद्धका हानिकारक अभ्यासहरूसमेतका संरचनागत र चलिआएका अड्चनहरू हटाउने पहल गर्न र एक स्वच्छ, स्वस्थ र दिगो वातावरणका लागि प्रभावकारी जलवायु कार्य गर्न आह्वान गरेको छ।

युवा सम्मेलनको घोषणापत्र ग्रहण गर्दै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले असोजमा हुने समिट अफ द फ्युचर (भविष्यको सम्मेलन) मा नेपाली युवाहरूको आशा र अपेक्षालाई साझा गरिने प्रतिबद्धता जनाउनु भएको छ। कार्यक्रममा संयुक्त राष्ट्रसंघको नेपालस्थित आवासीय संयोजक हाना सिंगर हाम्दीले निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता, आवश्यक स्रोतहरूको पहुँच, तथा सीप र नवप्रवर्तनमा लगानीको महत्त्वलाई जोड दिँदै युवाहरूलाई आर्थिक वृद्धि, लैङ्गिक समानता, जलवायु परिवर्तनसँग लड्न र सबैका लागि समृद्ध, दिगो भविष्य निर्माण गर्न सक्षम बनाउनु आवश्यक रहेको बताए।

सम्मेलनमा शिक्षा, स्वास्थ्य, आप्रवासन, सामाजिक सुरक्षा, लैङ्गिक समानता, जलवायु परिवर्तन र अन्य थुप्रै क्षेत्रहरूमा युवा सहभागीहरूको ज्ञान, सीप र क्षमताहरूलाई मजबुत पार्नको लागि सम्मेलनअघि देशका सातै प्रदेशहरूमा युवा परामर्श गरिएको थियो। सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले साउन २८ गते उद्घाटन गरेको सम्मेलनमा देशका सातै प्रदेशका १ सय ७० जनाभन्दा बढी युवा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सम्मेलनमा शिक्षा तथा डिजिटलाइजेसन, स्वास्थ्य, आप्रवासन, मर्यादित काम तथा सामाजिक सुरक्षा र जलवायु परिवर्तन तथा कृषि खाद्य प्रणालीको ६ वटा विषयगत समूहमा छलफल भएको थियो। यसमा सहभागीहरूले उनीहरूलाई ती विषयहरूले पारेको प्रभावबारे भनाइ राखेका थिए।नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर