काठमाडौं, साउन ३० /अफ्रिकी मुलुकहरूमा मंकीपक्सको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले विश्वव्यापी रूपमा स्वास्थ्य आपतकालको घोषणा गरेको छ। अफ्रिकी मुलुक कंगो र आसपासका मुलुकहरूमा मंकीपक्स फैलिएपछि डब्ल्युएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेका हुन्।
बुधबार उनले संयुक्त राष्ट्रसंघको हेल्थ एजेन्सीको इमर्जेन्सी कमिटीसँगको बैठक बसेर उक्त घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ। डब्ल्युएचओले एमपक्सको संक्रमण १३ वटा अफ्रिकी मुलुकमा देखिएको बताएको छ। बुरून्डी, केन्या, रूवान्डा, युगान्डा लगायत देशमा यसका नयाँ भेरियन्टको संक्रमण देखिन थालेको हो।
डब्ल्युएचओले दुई वर्षमा यो दोस्रो पटक आपतकालको घोषणा गरेको हो। अफ्रिकामा यस वर्षमात्रै १४ हजार भन्दा बढीमा संक्रमण देखिएको र ५२४ जनाले ज्यान गुमाइसकेको एपीले जनाएको छ। यसले सबभन्दा बढी कंगोमा प्रभावित पारेको जनाइएको छ। ९६ प्रतिशत केस र मृत्यु कंगोमा भएको हो। एमपक्स सरूवा रोग भएकोले यो यौन सम्पर्क, कसैले छोएमा, सास र कुराकानी गर्दा समेत सर्न सक्ने समाचारमा उल्लेख छ। सेतोपाटीबाट साभार