‘शिक्षामा चासो नहुँदा शैक्षिक गुणस्तर कायम भएन’
शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित

बर्दिया,भाद्र ७ (फरकसमाचार) /शिक्षामा चासो नहुँदा विद्यालयमा शैक्षिक गुणस्तर कायम नभएको मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले बताएका छन् । विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, नागरिक समाज तथा स्थानीय शिक्षा प्रेमीले शिक्षामा चासो र सकारात्मक सहायता नगर्दा शैक्षिक गुणस्तर कायम नभएको प्रमुख प्रशासकीय अधिकृत गिरीले बताएका हुन् ।

गत आर्थिक वर्ष २०८०/०८१ मा मधुवन नगरपालिका एसइइको नतिजामा जिल्लाको दोस्रो स्थान हासिल गरेको बताए । ‘एसइइको ३० दशमलव ५७ उत्तिर्ण प्रतिशत नतिजा ल्याएर हामी सन्तुष्ट छैनौं,’ प्रमुख प्रशासकीय अधिकृत गिरीले भने,‘एसइइको गत नतिजा भन्दा राम्रो नतिजा ल्याउन हामी लागिसकेका छौं ।’ शिक्षा क्षेत्रबाट आफु यस ठाउँमा आएकोले शिक्षालाई पहिलो प्राथमिकता हुन्छ । तर सम्बन्धित सबैले शिक्षामा चासो नदेखाउँदा हाम्रो देशकै शिक्षाको स्थिती यस्तो रहेको सुनाए ।

गत आर्थिक वर्षमा मधुवनमा सामुदायिक २७ र संस्थागत १२ गरि जम्मा ३९ वटा विद्यालय रहेको तथ्यांक छ । त्यसैगरि कार्यरत शिक्षक ३ सय ३३ जनाको तथ्यांक छ । नगर र स्वयमसेवक शिक्षकलाई एक महिनाको स्केल बराबर दशैं खर्चको व्यवस्था र वार्षिक रुपमा १० हजारको दरले पोशाक भत्ताको मधुवन पालिकाले व्यवस्था गरेको जनाए ।

सामुदायिक तथा संस्थागत विद्यालयका आइसिटि सम्बन्धि ज्ञान भएका शिक्षकहरुलाई दुई पटकमा ५४ जनालाई इएमआइएस सम्बन्धि र कक्षा १ देखि ३ का ३३ जना शिक्षकलाई एकिकृत पाठ्यक्रम सम्बन्धि कष्टमाइज तालिम दिएको सुनाए । चालु आर्थिक वर्ष २०८१/०८२ मा मधुवनमा जम्मा १२ हजार ४ सय २९ जना विद्यार्थी भर्ना भएको तथ्यांक छ । त्यसैगरि विद्यालयमा फर्जी विद्यार्थीहरुलाई नियमन गर्नको लागि शैक्षिक सत्रको सुरुवातमै २७ वटै विद्यालयमा निरीक्षण अनुगमन गरि विद्यार्थी सत्यापन गरिएको समेत अधिकृत गिरीले जनाए ।

यति गर्दा गर्दै हामी माँझ समस्या र चुनौती रहेको प्रमुख प्रशासकीय अधिकृत गिरीले भनाई राखे । विषयगत शिक्षकको अभाव, नियमित अनुगमन गर्न नसक्नु, स्रोत कक्षाहरुमा तालिम प्राप्त शिक्षकको अभाव र सामुदायिक विद्यालयमा राजनैतिक हस्ताक्षेप हुनु चुनौती सरह रहेका उल्लेख गरे । त्यसैगरि लागुऔषध दुव्र्यसनी, युवा पलायन, बाल विवाह, कमजोर सुशासन, सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारमा कठिनाई र कृषि क्षेत्रमा उत्पादनको प्रशस्त सम्भावना भएर पनि व्यवसायीक हुन नसक्नु मधुवनको जल्दा बल्दा समस्याको रुपमा रहेको अधिकृत गिरीले जानकारी दिए ।

यस्ता समस्यालाई समाधान गर्न सबैले आ–आफ्नो स्थानबाट सघाउँनु पर्ने उनले भनाई राखे । मधुवनले गत आर्थिक वर्षमा चालुतर्फ ८२, पुँजीतर्फ ५२ र पुर्वाधारतर्फ ५३ गरि ७१ प्रतिशत समग्र खर्च गरेको प्रगति विवतरण प्रस्तुत गरे ।

लेनदेन, जग्गा खिचलो, गाली गलौज, सिचाई सम्बन्ध र बाटो माग सम्बन्धमा न्यायीक समितिमा उजुरी परेको मधुवन नगरपालिकाकी उप–प्रमुख अनिता चौधरीले बताईन् । ‘गत आर्थिक वर्षमा न्यायीक समिति र मेलमिलाप केन्द्रद्वारा ९७ उजुरी फ्छ्यौट गरेका छौं,’उप–प्रमुख चौधरीले भनिन्,‘न्यायीक समितिले विभिन्न निकायमा ५ वटा मुद्दा रेफर गरेको छ ।’ त्यसैगरि ४ वटा केस सम्पर्क बिहिन र १० वटा केस फ्छ्यौट हुन बाँकी रहेको उप–प्रमुख चौधरीले जनाईन् ।

मानव र वन्यजन्तु बिचको द्वन्द्व बढ्दो रहेको मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले बताए । ‘वन्यजन्तुको आक्रमणबाट दुई वर्षमा मधुवनका आठ जनाको मृत्यु भईसकेको छ,’ नगर प्रमुख भाटले भने,‘ ‘मानव र वन्यजन्तु बिचको द्वन्द्व हाम्रो प्रमुख समस्या हो ।’ यो समस्या प्रति हामी अत्यतै संवेदनशील भएर काम गरिरहेका छौं ।

यो समस्यालाई समाधान गर्न मधुवन नगरपालिकाले प्राविधिकसहितको अध्ययन समिति बनाएर अघि बढेको छ । त्यसैगरि बाढीको पनि समस्या छ । ओराली देखि ठाकुरद्वारा जाने बाटोको गत वर्ष ठेक्का भईसकेको नगर प्रमुख भाटले सुनाए । केही काम भएको छ भने बाँकी काम चालु आवमा हुने जनाए । त्यसैगरि नगरपालिका कार्यालय अगाडिको बाटो लगायत नगरका अन्य बाटो चालु आवमा बनाईने नगर प्रमुख भाटले जानकारी दिए ।

मधुवन नगरपालिकाद्वारा बुधबार आयोजित पत्रकार भेटभाट कार्यक्रममा गत आर्थिक वर्षमा कार्य सम्पादनको विवरण प्रमुख प्रशासकीय अधिकृत गिरीले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर