लागु औषध न्युनिकरणको लागि अभियान चलाईदै
शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित

बर्दिया,भाद्र १४/ जिल्लाको ८३ किलोमिटर खुल्ला सिमानाका छ । जसले गर्दा लागु औषध सहजै ओसार पसार हुन्छ । लागु औषध सम्बन्धि अपराध जिल्लामा एक नंम्बरमा देखिन्छ । यो अपराध न्युनिकरण गर्न जिल्ला सुरक्षा समिति निरन्तर लागि रहेको अवस्था छ । तर पनि लागु औषधको अपराध बढि रहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले पुष्टि गर्छ ।

जिल्लाको लागु औषध सम्बन्धि अपराध न्युनिकरण गर्ने उदेश्यले तीन महिने अभियान संचालन गर्ने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । ‘जुन अभियानमा सबै सरोकारवालाको हातेमालो जरुरी छ,’प्रजिअ शर्माले भनिन्,‘सबैको साँझा प्रयासले यो अपराध न्युनिकरण हुने विश्वास छ ।’ करिब १९ देखि ३० वर्ष उमेर सम्मका युवाहरु लागु औषधबाट बढी प्रभावित देखिन्छन् ।

यो विषय साँझा चासोको विषय रहेकोले सबै सरोकारवाला निकाय बिच समन्वय र सहकार्यको आवश्यक रहेको प्रजिअ शर्माले सुनाईन् । ‘हाम्रो जिल्लामा पनि सबैको सरोकारको विषय बनोस्,’प्रजिअ शर्माले भनिन्,‘लागु औषधको माग घटाउने, आपुर्ति नियन्त्रण गर्ने, संचालन भएका पुनस्र्थापना केन्द्रको गुणस्तर तथा क्षमता अभिवृद्धि गर्ने र थप पुनस्र्थापना केन्द्र खोल्ने प्रयास हुनुपर्छ ।’ त्यसैगरि प्रभावितहरुलाई परामर्शको लागि राख्ने केन्द्र, प्रभावित सिमानाकामा संयुक्त रुपमा अप्रेशन र सचेतनामुलक कार्यक्रम गरिनुपर्छ ।

 

लागु औषधबाट युवाहरुलाई जोगाउन तीन महिने अभियान संचालनको लागि कार्ययोजनाको मस्यौदा तयार गरेको प्रजिअ शर्माले जनाईन् । मस्यौदा माथि व्यापक छलफल गरिने छ । छलफलबाट पास हुने तीन महिने कार्ययोजना जिल्ला सुरक्षा समितिले कार्यन्वयन गर्ने प्रजिअ शर्माले बताईन् । कार्ययोजनामा कुन निकायको के भुमिका रहने र के–कस्ता कार्यक्रम गरिने विस्तृत रुपमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष ०७८/०७९ मा ३३, आव ०७९/०८० मा ५६ र आव ०८०/०८१ मा १ सय २४ वटा लागु औषध अपराधका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको तथ्यांक प्रहरी उपरीक्षक प्रविण धितालले सार्वजनिक गरे । त्यसैगरि चालु आर्थिक वर्षको हालसम्म लागु औषध अपराधका १२ वटा मुद्दा दर्ता भईसकेको डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा लागु औषध दुव्र्यसन रोकथाम एवम् नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा जिल्लाको लागु औषधको अवस्था र न्युनिकरणको लागि गरिएका प्रयासको बारेमा प्रहरी उपरीक्षक प्रविण धिताल र सशस्त्र प्रहरी उपरीक्षक चित्राङ्गत दाहालले प्रस्तुतीकरण गरेका थिए । अन्तरक्रिया कार्यक्रममा आठ वटै पालिकाका प्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर