बर्दिया,भाद्र २८(फरकसमाचार)/ ५ ग्राम लागु औषधसहित सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाहा स्थितबाट लागु औषधसहित सशस्त्र प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाली धनगढी नगरपालिका–३का २६ वर्षिय मनोज ऐरी र बाँके खजुरा गाउँपालिका– ९ का २७ वर्षिय नविन हमाल छन् ।
भारतबाट नेपाल तर्फ शंकास्पद रुपमा आउदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । चेकजाँच गर्दा अन्दाजी ५ ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थ फेला परेको जनाईएको छ । दुवै जनाको साथबाट एन्ड्रोइड मोबाईल २ थान र नेपाली रुपैयाँ २ हजार ८ सय ३५ पनि बरामद भएको छ ।
भारतीय सीमावर्ती बजारमा लागू औषध सेवन गर्न जानेको संख्या बढ्दै जान थाले पछि सशस्त्र प्रहरीले कडाइ गरेको छ । सशस्त्र प्रहरीले बढैयाताल गाउँ पालिकाको वार्ड नं ७ र ८ बाट केही दिन अघि सुनका गरगहनासहित ९ सय ७० मिलिग्राम लागू औषधसहित दुई जनालाई पक्राउ गरेको थियो । त्यसैगरि जाली नोटको कारोबार गर्ने गिरोहको आशंकामा ४ जनालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको थियो ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जिल्ला सुरक्षा समितिले आगामी ३ महिना लागू औषध विरुद्ध सीमामा सशक्त कारबाही अघि बढाउदै समुदायमा जनचेतनाका कार्यक्रम बढोत्तरी गर्दै लैजाने निर्णय भएबाट सीमामा थप जनशक्ति तैनाथ गरी उक्त अभियानमा सहकार्य गरिँदै आएको नंम्बर ३१ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक चित्रांगत दाहालले जानकारी दिए ।